प्रदेश ५ सरकारले प्रदेश सभामा पेस गरेको राजधानी र नामकरणसम्बन्धी प्रस्तावमा आजदेखि छलफल सुरु हुँदै छ । प्रदेश सभाको बैठकमा सभामुखले प्रस्तावमाथि धारणा राख्न सांसदलाई समय दिनेछन् ।
सांसदले धारणा राखिसकेपछि सरकारले पेस गरेको प्रस्ताव निर्णयार्थ पेस हुनेछ । यसरी छलफल र प्रस्ताव पेस गर्नका लागि प्रदेश सभाले तीन दिनको समय राख्ने गरी तयारी गरेको छ ।
सोमबार र मंगलबार छलफल चलाएर बुधबार निर्णयार्थ पेस गर्ने तयारी सदनको छ । प्रदेश सभा राजधानीसम्बन्धी निर्णयलाई अबको तीन दिनभित्र सक्ने गरी आन्तरिक तयारीमा जुटेको छ ।
कार्यविधिअनुसार संशोधन प्रस्ताव र सांसदले धारणा राख्न माग गर्ने समयअनुसार छलफल कति लामो हुने भन्ने तय हुनेछ । राजधानीको प्रस्तावमाथि छलफल सकिएको भोलिपल्ट नै प्रदेश सभाले राजधानी र नामकरण टुंग्याउनेछ ।
प्रदेश सभाका सचिव दुर्लभकुमार पुनमगरका अनुसार प्रस्तावका पक्षमा दुईतिहाइ नपुगेका खण्डमा भने संशोधन प्रस्तावमाथि मतदान हुनेछ । मतदानका लागि सम्पूर्ण तयारी गरिएको छ ।
प्रदेश ५ को स्थायी राजधानी र नामकरणसम्बन्धी प्रस्तावमाथि संशोधन पेस गर्नका लागि १८ घँटाको समय निर्धारण गरिएको छ ।
यही असोज १६ गते प्रदेश सरकारका तर्फबाट स्थायी राजधानी दाङको देउखुरी उपत्यका र नाम लुम्बिनी राख्ने गरी प्रदेश सभामा प्रस्ताव पेस भएको थियो ।
उक्त प्रस्ताव पारित गर्नका लागि निर्माण गरिएको प्रदेश ५ को नामकरण र स्थायी राजधानीको प्रस्तावसम्बन्धी आन्तरिक कार्यविधि, २०७७ मा प्रस्तावमाथि छलफल समाप्त भएको १८ घन्टाभित्र चित्त नबुझेका प्रदेश सभा सदस्यले संशोधन पेस गरिसक्नुपर्ने नियम बनाइएको छ ।
सामान्यतया विधेयकका लागि भने संशोधन प्रस्तावका लागि ७२ घन्टाको समय दिइने प्रचलन भए पनि सभामुखले अधिकार प्रयोग गर्दै १८ घन्टाको मात्रै समय दिएका छन् ।
प्रस्ताव पारित हुनका लागि प्रदेश सभामा रहेका ८७ सांसदमध्ये ५८ जनाको पक्षमा मत चाहिन्छ । संविधानले प्रदेश सभाका कुल सदस्यको दुईतिहाइ मतले प्रदेश राजधानी तोक्ने र नामकरण गर्न सकिने उल्लेख गरेको छ ।
६१ सांसद रहेको नेकपा संसदीय दलका सबै सदस्यले सरकारको प्रस्तावमा मतदान गरेमा राजधानी दाङ सर्ने पक्का हुनेछ । कांग्रेसका १९, जनता समाजवादी पार्टीका ६ र राष्ट्रिय जनमोर्चाका एक सांसद छन् ।
बाँके र बर्दियामा स्वागत
प्रदेश ५ को अस्थायी राजधानी सार्ने प्रस्ताव सभामा पेस भएपछि रुपन्देहीमा आन्दोलन चर्किएको छ । दाङलगायत बाँके र बर्दियामा भने राजधानी सार्ने प्रस्तावको स्वागत भएको छ । दाङ, बाँके, बर्दियामा सत्तारुढ र प्रतिपक्षी दलले नै स्वागत गर्दा रुपन्देही, गुल्मी, पाल्पामा भने विरोध भएको छ ।
स्थायी राजधानीको विषयलाई लिएर प्रतिपक्षी नेपाली कांग्रेस सडक आन्दोलनमा छ । संयुक्त संघर्ष समिति र कांग्रेसले आज प्रदेश सभा भवन घेराउको कार्यक्रम राखेका छन् । प्रदेश सभा घेराउ हुने भएपछि प्रहरी परिचालन गरेर सुरक्षा व्यवस्था अत्यन्तै कडा बनाइएको छ ।