डा. केसीसँग अविलम्ब वार्ता गर्न सरकारसँग देउवाको आग्रह

आइतबार, १८ असोज, २०७७
डिजिटल संस्करण

पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले अनशनरत डा. गोविन्द केसीको जटिल बनेको स्वास्थ्य स्थिति दृष्टिगत गरेर अविलम्ब वार्ता गर्न सरकारसँग आग्रह गरेका छन् । केसीले राखेका मागहरू पूरा गर्न र उनको जीवनरक्षा गर्न ढिलाइ नगर्न आग्रह गर्दै उनले ढिलाइको दुष्परिणाम गम्भीर हुने चेतावनीसमेत दिएका छन् । 

‘डा. केसीको जटिल बनेको स्वास्थ्य स्थिति दृष्टिगत गरेर अविलम्ब वार्ता गर्न, मागहरू पूरा गर्न र उहाँको जीवनरक्षा गर्न किञ्चित ढिलाइ नगर्न आग्रह गर्दै ढिलाइको दुष्परिणाम गम्भीर हुने चेतावनीसमेत म दिन चाहन्छु,’ आइतबार विज्ञप्ति निकालेर देउवाले भनेका छन् । 

केसीको अनशन २१ दिन पुगिसक्दा उनको स्वास्थ्यस्थिति चिन्ताजनक रहेको भन्दै सरकारले वार्ता गरेर माग पूरा गर्न कुनै गम्भीरता प्रस्तुत नगर्नु दुःखद कुरा भएकोसमेत उनले बताएका छन् । त्यस्तै, देउवाले भनेका छन्, ‘चिकित्सा शिक्षामा सुधारदेखि कोरोनाविरुद्ध प्रभावकारी कदमसमेतका उहाँका मागहरू केवल एक व्यक्तिका माग हाेइनन्, प्रतिपक्षले निरन्तर उठाइरहेको र सिंगो देशले भावनात्मक ऐक्यबद्धता जनाएका मागहरू हुन् । जनभावनाअनुरूपका माग र आवाजलाई सुनुवाइ गर्नु सरकारको कर्तव्य हो । तर, सरकारले सुरुवातमा डा. केसीप्रति दुर्व्यवहारपूर्ण व्यवहार गर्नु एकातर्फ आपत्तिजनक थियो भने अर्काेतिर अहिलेसम्म संवाद र समाधानमा उदासीन व्यवहार देखाउनुले लोकतान्त्रिक प्रणालीभित्र कम्युनिस्टतन्त्रको अनुदार चरित्रलाई पुष्टि गरेको छ ।’


संवादमार्फत समाधानमा पुगेर त्यसको सार्थक कार्यन्वयनमा इमानदारी प्रस्तुत गर्न पनि उनले प्रधानमन्त्रीसँग आग्रह गरेका छन् । ‘वर्तमान प्रधानमन्त्रीकै अग्रसरतामा ०७५ को साउनमा डा. केसीसँग गरिएको सम्झौतालाई माघ महिनामा उल्लंघन गरेर द्वन्द्वको बिउ सरकारले त्यसवेला नै रोपेको हो । अतः फेरि पनि संवादमार्फत समाधानमा पुगेर त्यसको सार्थक कार्यान्वयनमा इमानदारी प्रस्तुत गर्न म प्रधानमन्त्रीलाई आग्रह गर्छु ।’

सुझावित समाचार