सरकारद्वारा उपत्यकाका १६ स्थानमा सुपथ मूल्य पसल सञ्चालन

शुक्रबार, १६ असोज, २०७७
डिजिटल संस्करण
सरकारद्वारा उपत्यकाका १६ स्थानमा सुपथ मूल्य पसल सञ्चालन

फाइल तस्बिर

सरकारले चाडपर्वलक्षित सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । बिहीबारदेखि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनले देशभरका आ–आफ्नै कार्यालय, डिपो, डिलर र अनलाइनमार्फत सुपथ मूल्य पसल सञ्चालन गरेका हुन् ।

काठमाडौं उपत्यकामा सिंहदरबार, टेकु, कालिमाटी कोटेश्वरलगायत विभिन्न १६ स्थानमा र उपत्यकाबाहिर विभिन्न ६५ स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा आएका छन् । 

यस्ता पसलमा दैनिक उपभोग्य वस्तुहरू चामल, दाल, गेडागुडी, चिनी, नुनलगायतका वस्तु सुपथ मूल्यमा खरिद गर्न सकिनेछ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडकी विभागीय प्रमुख शर्मिला सुवेदीले चामल, दाल र चिनीमा प्रतिकिलो ५ रुपैयाँ छुट दिइएको बताइन् ।  त्यस्तै बासमती चामल, गेडागुडी र कर्णालीको दाल, मासुजन्य वस्तुमा प्रतिकेजी १० रुपैयाँ छुट दिइएको पनि उनले बताइन् । 

कोभिड– १९ को जोखिमका कारण खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ कर्पोरेसन र दुग्ध विसका संस्थानले यस वर्ष एकीकृत रूपमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएका छैनन् । तर, सबै कम्पनीले बिक्री गर्ने वस्तुहरू सबै स्टलमा पाउने गरी व्यवस्था मिलाइएको सुवेदीले बताइन् । असोज १५ गतेबाट सुरु भएको सुपथ मूल्य पसल आगामी मंसिर ६ गतेसम्म सञ्चालन हुनेछन् ।

सुझावित समाचार