तिहारमा प्रहरीको विशेष सुरक्षा योजना : पटका पड्काए कारबाही, जुवातास खेल्नेमाथि निगरानी

शुक्रबार, २० कार्तिक, २०८३
प्रिन्ट संस्करण

काठमाडाैं- तिहारलाई सुरक्षित, शान्तिपूर्ण र मर्यादित बनाउन नेपाल प्रहरीले विशेष सुरक्षा योजना लागू गरेको छ । चाडपर्वका वेला हुन सक्ने चोरी, लुटपाट, जुवातास, सट्टेबाजी, पटका तथा आतिसबाजीको प्रयोग, मदिरा सेवनपछि हुने होहल्ला र अन्य अवाञ्छित गतिविधि नियन्त्रण गर्न प्रहरीले सुरक्षा निगरानी बढाएको हो ।

प्रहरीले तिहारमा पटका नपड्काउन, आतिसबाजी नगर्न र जुवातास तथा सट्टेबाजीमा संलग्न नहुन सर्वसाधारणलाई आग्रह गरेको छ । त्यस्तै, देउसीभैलो कार्यक्रम स्थानीय प्रशासनले तोकेको समयभित्र मात्रै सञ्चालन गर्न र सार्वजनिक शान्ति खलल पुग्ने गतिविधि नगर्न पनि अनुरोध गरेको छ ।

तिहार उज्यालो, खुसी, आपसी सद्भाव र भाइचाराको पर्व भए पनि लापरबाहीपूर्ण गतिविधिले दुर्घटना निम्त्याउन सक्ने भन्दै प्रहरीले नागरिकलाई सचेत गराएको हो । विशेषगरी पटका तथा विस्फोटक पदार्थको प्रयोगबाट आगलागी, मानवीय चोटपटक, अंगभंग, घर तथा सम्पत्तिमा क्षति पुग्नुका साथै वातावरणीय प्रदूषणसमेत हुन सक्ने प्रहरीको भनाइ छ । प्रहरी प्रधान कार्यालयले जारी गरेको विशेष अनुरोधमा पटका, आतिसबाजी तथा पटकाजन्य पदार्थ प्रयोग नगर्न भनिएको छ । यस्ता सामग्रीको प्रयोगले आफू मात्रै नभई वरपरका मानिसलाई समेत जोखिममा पार्न सक्ने भएकाले चाडपर्वको नाममा गैरजिम्मेवार गतिविधि नगर्न प्रहरीले आग्रह गरेको छ ।

बालबालिकालाई पटका तथा अन्य प्रज्वलनशील पदार्थबाट टाढा राख्न र उनीहरूको गतिविधिमा अभिभावकले विशेष निगरानी गर्नुपर्ने प्रहरी प्रवक्ता डिआइजी अविनारायण काफ्ले बताउँछन् । उनका अनुसार पटका तथा आगो सल्किन सक्ने सामग्री बालबालिकाको पहुँचमा राख्नुहुँदैन । आगलागीबाट बच्न घर, पसल तथा अन्य स्थानमा आवश्यक सतर्कता अपनाउन पनि प्रहरीले अनुरोध गरेको छ ।

तिहारका वेला जुवातास र सट्टेबाजीका गतिविधि बढ्न सक्ने भएकाले प्रहरीले त्यस्ता गतिविधि नियन्त्रणलाई पनि सुरक्षा योजनाको प्राथमिकतामा राखेको छ । जुवातास तथा सट्टेबाजी हुने सम्भावित स्थानमा नियमित निगरानीका साथै आवश्यकताअनुसार सादा पोसाकमा समेत प्रहरी परिचालन गरिएको छ ।

प्रहरीले सार्वजनिक स्थानमा मदिरा सेवन नगर्न, मदिरा सेवन गरेर होहल्ला तथा झैझगडा नगर्न र शान्तिपूर्ण रूपमा पर्व मनाउन आग्रह गरेको छ । चाडपर्वको अवसरमा रमाइलो गर्ने नाममा अरूलाई दुःख दिने, सार्वजनिक शान्ति खलल पार्ने र कानुनविपरीतका गतिविधि गर्ने छुट कसैलाई नभएको प्रहरीले जनाएको छ ।

प्रहरी प्रवक्ता काफ्लेका अनुसार सुरक्षा योजनाअन्तर्गत सीमानाका, भन्सार क्षेत्र, सार्वजनिक यातायात तथा मुख्य बजार क्षेत्रमा विशेष अनुगमन र चेकिङ टोली परिचालन गरिएको छ । विशेषगरी पटकालगायतका प्रज्वलनशील तथा विस्फोटक पदार्थको गैरकानुनी ओसारपसार, भण्डारण र बिक्री–वितरण नियन्त्रण गर्न प्रहरीले निगरानी बढाएको छ ।

‘सीमानाका, भन्सार क्षेत्र, सार्वजनिक यातायात तथा मुख्य बजार क्षेत्रहरूमा विशेष अनुगमन र चेकिङ टोली खटाई पटकालगायत अन्य प्रज्वलनशील तथा विस्फोटक पदार्थको गैरकानुनी ओसारपसार, भण्डारण र बिक्री–वितरणलाई पूर्ण रूपमा नियन्त्रण गर्न प्रहरी सक्रिय रूपमा क्रियाशील भइरहेको छ,’ काफ्लेले भने । 

उनका अनुसार पटका नपड्काउन, जुवातास नखेल्न, मादक पदार्थ सेवन गरी होहल्ला नगर्न र शान्तिपूर्ण रूपमा पर्व मनाउन स्थानीय रेडियो, पत्रपत्रिका तथा सामाजिक सञ्जालमार्फत पनि सूचना प्रवाह भइरहेको छ ।
 

देउसीभैलोमा समयसीमा, चर्को आवाजमा डिजे बजाउन पनि रोक

तिहारमा देउसीभैलो खेल्ने परम्परा रहे पनि राति अबेरसम्म कार्यक्रम सञ्चालन गर्दा सर्वसाधारणलाई असुविधा हुन सक्ने भन्दै प्रहरीले समयसीमाको पालना गर्न आग्रह गरेको छ । देउसीभैलो तथा सांस्कृतिक कार्यक्रम स्थानीय प्रशासनले तोकेको समयभित्र मात्रै मर्यादित रूपमा सञ्चालन गर्नुपर्ने प्रहरीको भनाइ छ । चाडपर्वका अवसरमा पूजाआजा, मेला तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्दा राति अबेरसम्म चर्को आवाजमा डिजे र साउन्ड सिस्टम बजाउने प्रवृत्तिले पनि समस्या निम्त्याउन सक्ने भएकाले सचेतना अपनाउन प्रहरीले भनेको छ ।

विशेषगरी पटका र आतिसबाजीको ठुलो आवाज तथा चर्को ध्वनिले वृद्धवृद्धा, बालबालिका र बिरामीलाई असर गर्न सक्ने भएकाले ध्वनि प्रदूषण हुने गतिविधि नगर्न प्रहरीले आग्रह गरेको छ ।

त्यस्तै, चाडपर्वका अवसरमा निकालिने र्याली, जुलुस तथा शोभायात्राका क्रममा पनि सुरक्षा व्यवस्था कडा पारिएको छ । यस्ता कार्यक्रमको मार्ग र समयका कारण दुई समुदायबिच विवाद वा झडप हुन सक्ने सम्भावनालाई ध्यानमा राखेर सुरक्षा व्यवस्थापन थप मजबुत बनाइएको प्रहरीले जनाएको छ ।

तिहार तथा अन्य चाडपर्वमा उपभोग्य वस्तुको माग बढ्ने भएकाले बजारमा हुन सक्ने अनियमितता नियन्त्रणलाई पनि प्रहरीले सुरक्षा योजनामा समेटेको छ । चाडपर्वको समयमा खाद्यान्न, लत्ताकपडा, इन्धन तथा दैनिक उपभोगका सामग्रीको माग बढ्ने गर्छ । 

सुझावित समाचार