काठमाडौं- पूर्वप्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी ओलीले अचानक प्रहरी महानिरीक्षक फेरबदलमा सरकारको नियतमाथि प्रश्न उठाएका छन् ।
बुधबार पार्टी कार्यालयबाहिर सञ्चारकर्मीहरूले सोधेको प्रश्नको संक्षिप्त जवाफ दिँदै ओलीले सरकारले आफूअनुकूल काम गराउन आइजिपी फेरेको टिप्पणी गरेका हुन् । ‘उहाँहरूले अह्राएको काम गर्छ भनेर बनाएको होला,’ ओलीले भने ।
मन्त्रिपरिषद्को बुधबारको आकस्मिक बैठकले दानबहादुर कार्कीलाई हटाएर एआइजी मनोज केसीलाई आइजिपीको जिम्मेवारी दिने निर्णय गरेपछि ओलीको यस्तो प्रतिक्रिया आएको हो ।
यस्तै, ओलीले कांग्रेस सभापति गगन थापासँग समसामयिक र राजनीतिक कुराहरू भएको बताए । ओलीलाई भेट्न थापा मंगलबार साँझ उनको निवास भक्तपुरस्थित गुन्डु पुगेका थिए । ‘खास राम्रो कुरा भयो, राजनीतिक कुराहरू भए । समसामयिक कुराहरू भए,’ ओलीले भने ।