बस्तीमा आतंक मच्चाएको चितुवा नियन्त्रणमा

बुधबार, १८ कार्तिक, २०८३
प्रिन्ट संस्करण

धनगढी- कैलालीको गोदावरी नगरपालिका– ६ लालपुर, बडेहा र आसपासका बस्तीमा केही दिनयता आतंक मच्चाएको चितुवा नियन्त्रणमा लिइएको छ । चितुवा नियन्त्रणमा लिन लालपुरमा दुईवटा खोरको पासो राखिएको थियो । सबवन डिभिजन कार्यालय अत्तरियाले मंगलबार राखेको खोरमा बेलुकी चितुवा फसेको हो ।

बस्तीमै आएर चितुवाले कुकुर, गाईबस्तुलगायत घरपालुवा जनावर खान थालेपछि स्थानीय त्रसित बनेका थिए । वडाध्यक्ष जग्गुराम चौधरीका अनुसार चितुवाले करिब दुई सातायता गाउँमा आधा दर्जन घरपालुवा जनावरमाथि आक्रमण गरेको छ । अहिलेसम्म मानिसमा भने आक्रमण गरेको घटना भएको छैन । 

दसैँको अघिल्लो दिन वडा नम्बर ६ को रामजानकी टोलस्थित उखुबारीमा स्थानीयले चितुवा देखेका थिए । त्यसयता चितुवाले घरपालुवा जनावरमाथि निरन्तर आक्रमण गरिरहेको स्थानीय मोहनबहादुर खड्काले बताए । सोमबार राति मात्र चितुवाले लालपुरमा एउटा खसी मारेको थियो भने एउटा बंगुरलाई आक्रमण गरेर घाइते बनाएको स्थानीयले बताएका छन् । 

बस्ती र आसपासमा चितुवा निरन्तर देखिन थालेपछि स्थानीय आतंकित बनेका थिए । वडाध्यक्ष चौधरीका अनुसार चितुवाले आक्रमण गर्ला भन्ने डरले साँझ–बिहान गाउँमा हिँडडुल गर्न तथा रातिको समयमा घरबाहिर निस्कन समस्या भइरहेको थियो ।

बडेहास्थित शैलेश्वरी माविको मैदानमा आइतबार राति चितुवा गएको भिडियो विद्यालयको सिसिक्यामेरामा रेकर्ड भएको थियो । अध्यक्ष चौधरीले गाउँभरि चितुवाको त्रास फैलिएको बताए । चितुवाको आक्रमणमा पर्ने डरले राति घरबाहिर निस्कन सक्ने अवस्था नरहेको उनले बताए । 

‘हिजो राति मात्र चितुवाले एउटा खसी मारेको थियो । साँझबिहान हिँडडुल गर्न पनि डर थियो,’ चौधरीले भने, ‘चितुवालाई नियन्त्रणमा लिन डिभिजन वन कार्यालय धनगढीलाई आग्रह गरेका थियौँ ।’ स्थानीयका अनुसार गाउँमा करिब चार–पाँच बिघा जमिनमा रहेको उखुबारीमा देखिएको चितुवाले उखुबारीलाई वासस्थान बनाएको थियो । चितुवा नियन्त्रणमा लिन उक्त उखुबारीको छेउछाउमा दुईवटा खोरको पासो राखिएको थियो ।

चितुवा नियन्त्रणमा लिन वन कार्यालयले ढिलाइ गरेको स्थानीयको गुनासो थियो । सिसिक्यामेराको भिडियोमै चितुवा पुष्टि भइसकेकाले प्राविधिक टोली परिचालन गरेर छिटोभन्दा छिटो चितुवाको खोजी गरेर नियन्त्रणमा लिन स्थानीयले माग गर्दै आएका थिए । डिभिजन वन कार्यालय धनगढीका अनुसार गोदावरी– ६, ८ तथा सँगै जोडिएको गौरीगंगा नगरपालिका– ६, दैदवारी, धनगढीको वडा नम्बर १६ र १७ स्थित भारताल सामुदायिक वनमा पनि चितुवाको ‘मुभमेन्ट’ देखिएको छ ।

डिभिजन वन कार्यालय धनगढीका निमित्त प्रमुख वन अधिकृत जिवछ यादवका अनुसार चितुवा नियन्त्रणमा लिन शुक्लाफाँटा आरक्षमा रहेको राष्ट्रिय प्रकृति संरक्षण कोषको टोलीसमेत परिचालित थियो । गौरीगंगा–६, मोयास्थित एक सामुदायिक वनमा गत १६ असोजमा भएको घटनामा एकजनाको मृत्यु भएको थियो । कोषको टोलीले त्यसवेला पाइलाका आधारमा बाघले आक्रमण गरेको भनेको थियो । तर, त्यसयता बाघ कहीँ पनि नदेखिएकाले चितुवाले आक्रमण गरेको हुन सक्ने यादवले बताए ।

सुझावित समाचार