उदयपुर- उदयपुरमा प्रतिबन्धित गाँजाको ओसारपसार र भण्डारण बढ्दै गएको पछिल्ला प्रहरी कारबाहीले पुष्टि गरेको छ । चालु आर्थिक वर्षको चार महिनामै जिल्लाका विभिन्न स्थानबाट १२ हजार ५५ दशमलव ४४ किलोग्रामभन्दा बढी गाँजा बरामद भएको छ । पछिल्लो समय ठूलो परिमाणमा गाँजा एकै ठाउँमा भण्डारण गर्ने र सवारीसाधनमार्फत ढुवानी गर्ने क्रम देखिए पनि यसको कारोबारमा संलग्न मुख्य व्यक्तिसम्म प्रहरी पुग्न सकेको छैन ।
गत बिहीबार मात्रै बेलका नगरपालिका–७ स्थित वन क्षेत्रमा लुकाएर राखिएको अवस्थामा प्रहरीले दुई हजार ८२० दशमलव ५०० किलोग्राम गाँजा बरामद गर्यो । ८५ वटा बोरामा प्याक गरेर लुकाइएको गाँजा विशेष सूचनाका आधारमा बरामद गरिएको प्रहरीको भनाइ छ । गाँजा कसले र कुन प्रयोजनका लागि त्यहाँ भण्डारण गरेको थियो भन्ने खुलेको छैन । घटनामा संलग्न व्यक्तिको पहिचान र खोजी भइरहेको प्रहरीको भनाइ छ ।
यसअघि बेलका नगरपालिका–८ मैनामैनीबाट एकैपटक सात हजार ८२६ दशमलव ८०० किलोग्राम गाँजा बरामद भएको थियो । सशस्त्र प्रहरी र नेपाल इन्टेलिजेन्स ब्युरोको सूचनाका आधारमा प्रदेश १–०२–००२ ख ०२०६ नम्बरको ट्रक जाँच गर्दा २४६ वटा प्लास्टिकका बोरामा लुकाइएको गाँजा फेला परेको थियो । ट्रकचालक भने फरार भएका थिए।
त्यस्तै, गत साउन र भदौमा मात्रै एक हजार ४२८ दशमलव ६४ किलोग्राम गाँजा बरामद गरिएको थियो । कटारी नगरपालिका–६ बाँकेटारस्थित शान्तिवन र त्रियुगा नगरपालिकाको लालपत्ताबाट बरामद गरिएको गाँजासँगै नौजना पक्राउ परेका थिए।
जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०८०/८१ देखि चालु आर्थिक वर्षको चार महिनासम्ममा कुल १५ हजार १०५ दशमलव ०४४ किलोग्राम गाँजा बरामद भएको छ । यस अवधिमा गाँजासम्बन्धी करिब ७० वटा मुद्दा दर्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गणेशबहादुर बमका अनुसार आर्थिक वर्ष २०८०/८१ मा २४८ दशमलव ०८५ किलोग्राम गाँजा बरामद हुँदा २७ जना पक्राउ परेका थिए । उक्त वर्ष १८ मुद्दा दर्ता भएका थिए । आर्थिक वर्ष २०८१/८२ मा एक हजार ७५३ किलोग्राम गाँजा बरामद, ३९ जना पक्राउ र २७ मुद्दा दर्ता भएका थिए । त्यस्तै, आर्थिक वर्ष २०८२/८३ मा एक हजार ४८ दशमलव ४९९ किलोग्राम गाँजा बरामद हुँदा २८ जना पक्राउ परेका थिए भने १६ मुद्दा दर्ता भएका थिए ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख (एसपी) राजन चापागाईँका अनुसार गाँजा ओसारपसारमा प्रयोग भएका सवारीसाधनका चालकदेखि सवारीधनीसम्मको संलग्नता अनुसन्धानबाट देखिने गरेको छ । कतिपय अवस्थामा सवारीधनीलाई जानकारी नदिई चालकले गाँजा ढुवानी गर्ने गरेको र कतिपयमा सवारीधनी नै कारोबारमा संलग्न भएको पाइएको उनले बताए । ‘अनुसन्धान जारी छ । अब गाँजाको कारोबार गर्ने मुख्य व्यापारीलाई नै पक्राउ गर्न सक्छौँ,’ उनले भने ।
यता सरोकारवालाहरुले ठूलो परिमाणमा गाँजा बरामद हुनु र पटकपटक ढुवानीमा प्रयोग भएका सवारीसाधन फेला पर्नुले उदयपुर गाँजा ओसारपसारको मार्ग वा भण्डारणस्थलका रूपमा प्रयोग भइरहेको आशंका बढाएको बताउँछन् । तर, बरामद गाँजाको स्रोत, गन्तव्य र मुख्य कारोबारीको सञ्जाल पहिचान गर्नु प्रहरीका लागि मुख्य चुनौती देखिएको जानकारहरुको भनाइ छ ।