कपिलवस्तुमा राति ९ बजेसम्म मात्र देउसीभैलो खेल्न पाइने, पटाका र डिजेमा पूर्ण रोक

शनिबार, २१ कार्तिक, २०८३
डिजिटल संस्करण

कपिलवस्तु- यस वर्षको तिहार र छठ पर्वलाई अनुशासित, मर्यादित र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन कपिलवस्तु जिल्ला प्रशासनले विशेष सुरक्षा तथा नियमनकारी निर्णयहरू सार्वजनिक गरेको छ ।

जिल्ला सुरक्षा समितिको सिफारिसमा प्रशासन कार्यालयले यस वर्षको तिहारमा देउसीभैलो खेल्ने समय राति ९ बजेसम्मका लागि मात्र निर्धारण गरेको छ ।

शुक्रबार जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा प्रमुख जिल्ला अधिकारी (प्रजिअ) तोयनारायण सुवेदीको अध्यक्षतामा बसेको सरोकारवालाहरूसँगको छलफल तथा जिल्ला सुरक्षा समितिको बैठकले उक्त निर्णय गरेको हो । 

चाडपर्वलाई व्यवस्थित बनाउन प्रशासनले कात्तिक २५ गते (भाइटिकाकाे दिन) जिल्लाभर मदिरा बिक्री-वितरणमा पूर्णरुपमा रोक लगाएको छ । त्यसैगरी, तीव्र ध्वनी उत्पन्न गराई स्वास्थ्यमा प्रतिकूल असर पार्ने डिजेको प्रयोग, पटाकाजन्य विष्फोटक पदार्थको ओसारपसार तथा बिक्री-वितरण र जुवातासमाथि पनि कडा प्रतिबन्ध लगाइएको छ ।

तिहारमा स्थापित गरिने लक्ष्मी पूजाका मूर्ति विसर्जनका सन्दर्भमा तोकिएको रुट प्रयोग गरी सूर्यास्त हुनुअघि नै नजिकैको नदी वा खोलामा विसर्जन गरिसक्नुपर्ने नियम तय गरिएको बताएको छ ।

साथै, सामाजिक सञ्जालमार्फत सामाजिक सद्भाव बिगार्ने वा धार्मिक सहिष्णुतामा खलल हुने खालका कुनै पनि सामग्री पोस्ट नगर्न प्रशासनले सचेत गराएको छ ।

बैठकलाई संवोधन गर्दै प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले चाडपर्वका समयमा हुन सक्ने सम्भावित आपराधिक घटना तथा अवाञ्छित गतिविधिलाई रोक्नका लागि प्रशासनले एकीकृत सुरक्षा योजना लागू गरेको बताए ।

तोकिएका नियमहरूको प्रभावकारी कार्यान्वयन गर्न प्रशासनले सम्पूर्ण जिल्लावासीमा अनुरोध गरेको छ । यदि कसैले निर्णयको उल्लंघन वा अटेर गरेमा प्रचलित कानुन बमोजिम कडा कारबाही गरिने प्रजिअले बताए।


 

सुझावित समाचार