सल्यान/ सल्यानमा पानीमा डुबेर दुईजना बालकको मृत्यु भएको छ। कालीमाटी गाउँपालिका ७, घुइयाबारीका दुईजना ८ वर्षीय बालकको बबई नदीकिनारमा रहेको सानो नालामा डुबेर मृत्यु भएको हो ।
मृत्यु हुनेमा घुइयाबारीका ८ वर्षीय योगेश बुढा र सोही ठाउँका ८ वर्षीय अंकित बुढा रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
शुक्रबार साँझ दुवै बालक घरबाट खेल्न भन्दै निस्किएका थिए। लामो समयसम्म घर नफर्किएपछि आफन्त, स्थानीयवासी र प्रहरीले खोजतलास गरेका थिए । खोजी गर्ने क्रममा बालकलाई बबई नदीको छेउमा रहेको सानो नालामा पानीमा डुबेको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।
उनीहरूलाई तत्काल उद्धार गरी स्थानीय मेडिकलमा पुर्याइएको थियो । मेडिकलमा जाँच गर्ने क्रममा मेडिकल सञ्चालकले दुवैजनाको मृत्यु भएको घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सल्यानको सञ्चार शाखाले जनाएको छ ।
मृतक बालकहरूको शव हाल स्थानीय मेडिकलमै सुरक्षित राखिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।