जाजरकोटमा संस्कृति संरक्षणसँगै सामाजिक काममा देउसीभैलो

आइतबार, २२ कार्तिक, २०८३
डिजिटल संस्करण

जाजरकोट । तिहार भन्नेबित्तिकै आजभोलि डिजेको चर्को आवाज, आधुनिक गीत–संगीत र डिस्को शैलीको देउसीभैलोको दृश्य देखिन थालेको छ । देउसीभैलोबाट संकलित रकम मनोरञ्जन, पिकनिक र अनावश्यक खर्चमा सकिने प्रवृत्ति बढिरहेका वेला जाजरकोटको नलगाड नगरपालिका– ५ का स्थानीय भने मौलिक संस्कृति जोगाउँदै सामाजिक कामका लागि देउसीभैलो खेल्न जुटेका छन्।

स्थानीय परम्परा र पुर्खाको संस्कृतिलाई निरन्तरता दिँदै उनीहरू पैँसेरु नाचमार्फत जिल्ला सदरमुकाममा देउसीभैलो खेलिरहेका छन्। आधुनिक प्रविधि र डिजेको सहारा नलिई सामान्य मादल र नेवरको तालमा पैँसेरु नाच प्रस्तुत गर्दै उनीहरूले मनोरञ्जनसँगै मौलिक संस्कृतिको संरक्षणको सन्देश दिइरहेका छन्।

नलगाड नगरपालिका– ५ का नरबहादुर खत्रीले पुर्खादेखि चल्दै आएको पैँसेरु नाचमार्फत देउसीभैलो खेल्नुको उद्देश्य संस्कृति जोगाउनु र सामाजिक कामका लागि रकम संकलन गर्नु रहेको बताए। उनका अनुसार पछिल्लो समय युवा पुस्ताले यस्तो मौलिक नाच र संस्कृतिमा चासो नदिँदा पैँसेरु नाच नै लोप हुने अवस्थामा पुगेको छ।

स्थानीय रवीन्द्र वलीका अनुसार गत वर्ष तिहारमा देउसीभैलो खेलेर दुई लाख ४४ हजार रुपैयाँ संकलन गरिएको थियो। उक्त रकम गाउँबाट वडा कार्यालयसम्म जाने बाटो निर्माणमा खर्च गरिएको उनले बताए। यस वर्ष पनि देउसीभैलोबाट संकलित रकम गाउँका साझा आवश्यकता पूरा गर्न खर्च गर्ने योजना रहेको उनको भनाइ छ।

यस वर्ष संकलित रकम विवाह, मृत्यु संस्कारलगायत सामाजिक कार्यमा प्रयोग हुने भाँडाकुँडा खरिद गर्न खर्च गरिने वलीले बताए।

गाउँमा हुने सामूहिक तथा सामाजिक कार्यमा आवश्यक सामग्रीको अभाव नहोस् भन्ने उद्देश्यले देउसीभैलोबाट रकम संकलन गरिएको उनले स्पष्ट पारे।

नलगाड– ५ का दीपकभक्त वलीले नयाँ पुस्ताले पुर्खाको संस्कृति र परम्परालाई बेवास्ता गर्दै गएकोमा चिन्ता व्यक्त गरे । ‘हामीले बाबुबाजेको पालादेखि चल्दै आएको थितिअनुसार आफ्नो संस्कृति जोगाइरहेका छौँ। तर, अहिलेका युवा पुस्ताले हाम्रो कुरा सुन्दैनन्। यही अवस्था रहिरहे पैँसेरु नाच र हाम्रो मौलिक संस्कृति नै लोप हुने खतरा छ,’ उनले भने।

उनका अनुसार पैँसेरु नाच तिहारमा मात्रै सीमित छैन। गाउँमा हुने विवाह, पूजाआजा तथा अन्य सामाजिक कार्यमा समेत यो नाच प्रस्तुत गर्ने परम्परा छ। तर, पछिल्लो पुस्ताको उदासीनताले पुर्खाको सिप, कला र संस्कार हस्तान्तरण हुन नसकेको उनको गुनासो छ।

चिसो मौसममा सदरमुकाममा सामूहिक बसाइ, खानपिन र देउसीभैलो सञ्चालन गर्नु सहज छैन। त्यसका बाबजुद सामाजिक कामका लागि रकम जुटाउने र आफ्नो मौलिक संस्कृति चिनाउने उद्देश्यले आफूहरू गाउँबाट सदरमुकाम आएको उनीहरूले बताए।

आधुनिकताका नाममा डिजे बजाउने, डिस्को शैलीमा देउसीभैलो खेल्ने र संकलित रकम पिकनिक तथा व्यक्तिगत मनोरञ्जनमा खर्च गर्ने प्रवृत्तिभन्दा आफूहरूको अभियान फरक रहेको उनीहरूको भनाइ छ।

उनीहरूका लागि देउसीभैलो केवल रमाइलो गर्ने माध्यम होइन, गाउँको आवश्यकता पूरा गर्ने र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको संस्कृति बचाउने सामाजिक अभियान पनि हो। 

पैँसेरु नाचको तालमा देउसीभैलो खेलिरहेका नलगाड– ५ का स्थानीयले परम्परा जोगाउन नयाँ पुस्ताको सहभागिता आवश्यक रहेको सन्देशसमेत दिएका छन्।

सुझावित समाचार