सिमेन्ट उद्योगका नाममा ३४ करोड कर्जा लिएर अन्य कम्पनीमा लगानी र सेयर खरिद

बानियाँ निर्माण सेवाका कार्यकारी निर्देशक बानियाँ पक्राउ

बुधबार, १८ कार्तिक, २०८३
प्रिन्ट संस्करण

काठमाडौं/ ३४ करोड कर्जा दुरुपयोग गरेको आरोपमा बानियाँ निर्माण सेवाका कार्यकारी निर्देशक दीक्षान्त बानियाँ पक्राउ परेका छन् ।

भूगर्भ सिमेन्टका नाममा विभिन्न चारवटा बैंकबाट लिएको ३४ करोड रुपैयाँ उद्देश्यविपरीत अन्य कम्पनीमा लगानी तथा सेयर खरिद गरेर प्रयोग गरेको भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले उनलाई सोमबार भैरहवाबाट पक्राउ गरेको हो ।

उनी कांग्रेस नेता एवं बागमतीका पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँका छोरा पनि हुन् । सिआइबीले नेपाल राष्ट्र बैंकको पत्रका आधारमा बानियाँलाई बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गत अनुसन्धान गर्न उच्च अदालत पाटनबाट पक्राउ अनुमति लिएर नियन्त्रणमा लिएको बताएको छ ।

पक्राउपछि बानियाँलाई अदालतबाट चार दिनको म्याद लिएर थप अनुसन्धान अघि बढाइएको सिआइबीले जनाएको छ ।

कर्जा चुक्ता गरिसकेको भए पनि रकम स्वीकृत उद्देश्यभन्दा फरक क्षेत्रमा प्रयोग गरेको देखिएपछि उनीमाथि बैंकिङ कसुरसम्बन्धी अनुसन्धान अघि बढाइएको स्रोतको भनाइ छ ।

सुझावित समाचार