जंगलमा लुकाएर राखिएको साढे २८ क्विन्टल गाँजा बरामद

शुक्रबार, २० कार्तिक, २०८३
डिजिटल संस्करण

उदयपुर । उदयपुरको बेलका नगरपालिकाबाट प्रहरीले साढे २८ क्विन्टलभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजा बरामद गरेको छ ।

विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले बेलका नगरपालिका– ७, तिलितलेमा लुकाएर राखिएको अवस्थामा ८५ बोरामा रहेको दुई हजार ८२० किलो पाँच सय ग्राम गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख (एसपी) राजन चापागाईंले जानकारी दिए । 

इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट खटिएको प्रहरी टोलीले बिहीबार राति करिब १० बजे बेवारिसे अवस्थामा लुकाइछिपाइ राखिएको गाँजा फेला पारेको उनको भनाइ छ । 

बरामद गरिएको गाँजा इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलामा ल्याएर राखिएको र गाँजा कसले र कुन प्रयोजनका लागि त्यहाँ लुकाएर राखेको हो भन्ने खुलेको छैन ।  उनले भने, ‘वन क्षेत्रबाट उक्त गाजा बरामद गरिएको हो ।’

घटनामा संलग्न व्यक्तिहरूको पहिचान तथा खोजतलास भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ । यस अघि पनि बेलका नगरपालिका–८, मैनामैनीबाट सशस्त्र प्रहरी र नेपाल इन्टेलिजेन्स ब्युरोले एकैपटक एकैठाउँबाट सात हजार ८२६ केजी ८०० ग्राम प्रतिबन्धित गाँजा बरामद गरेको थियो।

सुझावित समाचार