मकवानपुर- मकवानपुरको मनहरी गाउँपालिका– ६, पोलाघारीका आवासविहीन चेपाङ समुदायका तीन परिवारले नयाँ घर पाएका छन् । एमाले मनहरी गाउँपालिका कमिटीको पहलमा निर्माण गरिएका तीनवटा घर बागमती प्रदेश मुख्यमन्त्री किरण थापामगरले सम्बन्धित परिवारलाई बिहीबार हस्तान्तरण गरेका छन् ।
मुख्यमन्त्री थापाले आवासविहीन मानबहादुर प्रजा, रविलाल प्रजा र सूर्य प्रजाको परिवारलाई घरको साँचो हस्तान्तरण गरे । घर हस्तान्तरण गर्दै उनले राज्यको मूलधारबाट पछाडि परेका सीमान्तकृत चेपाङ समुदायको जीवनस्तर उकास्न प्रदेश सरकारले सुरक्षित आवास र जीविकोपार्जनका कार्यक्रमलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरे । ‘आज तीन परिवारले घर पाए, प्रदेश सरकार आफैँले अन्य आवासविहीनका लागि पनि घर बनाउँछौँ, उनले भने ।
घर हस्तान्तरणपछि पोलाघारीस्थित विपन्न चेपाङ बस्तीको स्थलगत निरीक्षण गर्दै मुख्यमन्त्री थापाले प्रदेशमा रहेका अन्य आवासविहीन विपन्न परिवारका लागि पनि सुरक्षित घर निर्माण गर्न आवश्यक बजेट उपलब्ध गराउने बताए । उनले बस्तीमा रहेका सबै आवासविहीन परिवारको यकिन विवरण तत्काल संकलन गर्न जनप्रतिनिधि तथा कर्मचारीलाई निर्देशन पनि दिए ।
घर निर्माणका लागि आवश्यक जग्गा व्यवस्थापन स्थानीय तह र समुदायले गर्नुपर्ने भन्दै उनले प्रदेश सरकारले बजेट विनियोजन गरेर निर्माण प्रक्रिया अघि बढाउने प्रतिबद्धता व्यक्त गरे । ‘तपाईंहरूको कतिजनाको घर बनाउनुपर्ने हो, त्यसको विवरण र जग्गा व्यवस्थापन स्थानीय तह तथा समुदायले गर्नुहोस्, ‘उनले भने, ‘प्रदेश सरकारले बजेट विनियोजन गरेर तत्काल निर्माण सुरु गर्छ, ।’
आवाससँगै चेपाङ समुदायको दिगो आयआर्जनका लागि बाख्राका पाठापाठी र कुखुराका चल्ला वितरण गर्ने विशेष अभियान सञ्चालन गरिने मुख्मयन्त्री थापाले बताए । उनले अनुदानमा उपलब्ध गराइने बाख्रालाई व्यावसायिक रूपमा पालन गरेर आयआर्जनको स्रोत बनाउन पनि समुदायलाई आग्रह गरे । ‘हामी तपाईंहरूलाई बाख्रा दिन्छौँ, तर पाल्न दिएको बाख्रा काटेर खान पाइँदैन । त्यसलाई राम्रोसँग हुर्काएर पाठापाठी बढाउनुपर्छ र आम्दानीको दिगो स्रोत बनाउनुपर्छ,’ उनले भने । मुख्यमन्त्री थापाले सीमान्तकृत तथा विपन्न समुदायको जीवनस्तर सुधारका लागि आवाससँगै रोजगारी र आयआर्जनका अवसर सिर्जना गर्नुपर्नेमा जोड दिए ।