काठमाडौं/ जलवायु परिवर्तनका कारण पर्यटन क्षेत्रमा बढ्दै गएको जोखिम न्यूनीकरण गर्दै दिगो र उत्थानशील पर्यटन विकासका लागि पर्यटनमन्त्री खडकराज पौडेल ‘गनेस’ले विश्वसमुदायको ध्यानाकर्षण गराएका छन् । मन्त्री पौडेलले पर्यटन विकासका लागि सशक्तीकरण, प्रभावकारी सरकारी सहयोग र संस्थागत सहकार्य आवश्यक रहेको बताएका हुन् ।
बेलायतको लन्डनमा ४ नोभेम्बर २०२६ मा विश्व यात्रा बजार (डब्लुटिएम)को अवसरमा विश्व यात्रा तथा पर्यटन परिषद् (डब्लुटिटिसी) र संयुक्त राष्ट्रसंघीय पर्यटन (युएन टुरिजम)को संयुक्त आयोजनामा सम्पन्न २०औँ डब्लुटिएम मन्त्रीस्तरीय शिखर सम्मेलनमा सहभागी हुँदै पर्यटनमन्त्री पौडेलले जलवायु परिवर्तनले पर्यटन क्षेत्रमा पारेको गम्भीर प्रभावबारे नेपालको अनुभव प्रस्तुत गरेका हुन् ।
‘बदलिँदो विश्व परिवेशमा पर्यटन क्षेत्रको उत्थानशीलता अभिवृद्धि’ विषयमा केन्द्रित सम्मेलनमा विश्वका विभिन्न देशका पर्यटनमन्त्री तथा सार्वजनिक र निजी क्षेत्रका प्रतिनिधिको सहभागिता थियो । छलफलमा मन्त्री पौडेलले जलवायुजन्य विपत्का कारण पर्यटन पूर्वाधार र पर्यटकीय सम्पत्तिमा पुग्ने क्षति तथा यसले पर्यटन क्षेत्रको दिगोपनमा पार्ने प्रभावबारे धारणा राखेका थिए । उनले भोटेकोशीमा आएको आकस्मिक बाढीबाट भएको मानवीय क्षति र पर्यटन पूर्वाधारमा पुगेको क्षतिलाई जलवायु परिवर्तनले पर्यटन क्षेत्रमा निम्त्याउन सक्ने जोखिमको उदाहरणका रूपमा प्रस्तुत गरे ।