सोलुखुम्बुमा हेलिकाेप्टर आपसमा ठोक्किँदा एक भारतीयको मृत्यु, तीन घाइते (अपडेट)

मंगलबार, १७ कार्तिक, २०८३
डिजिटल संस्करण

काठमाडाैं । सोलुखुम्बुकाे खुम्बु पासाङल्हामु गाउँपालिका– ४, फेरुचेस्थित हेलिप्याडमा दुई हेलिकाेप्टर आपसमा ठोक्किँदा एक भारतीय नागरिकको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् ।

मंगलबार बिहान करिब ८:११ बजे फिस्टेल एयर र डाइनेस्टी एयरका हेलिकाेप्टर अवतरण गर्ने क्रममा एक-आपसमा ठक्कर खाई दुर्घटना भएको हो । दुर्घटनामा फिस्टेल एयरमा चालक दलसहित तीनजना सवार रहेका थिए ।

मृत्यु हुनेमा भारतको तमिलनाडु राज्य, चेन्नई घर भएका अन्दाजी ४७ वर्षीय वसन्तकुमार बलरामुडुको घटनास्थलमै मृत्यु भएको हो । मृतकको शव प्रभु एयरको हेलिकाेप्टरमार्फत बिसुगार्ड, लुक्ला ल्याइएको छ ।

घाइते हुनेहरूमा न्युजिल्यान्ड घर भएका अन्दाजी ४९ वर्षीय सेलिशकुमार पटेल, फिस्टेल एयरका पाइलट रवीन्द्र प्रजापति र डाइनेस्टी एयरका पाइलट प्रजल के.सी. रहेका छन् ।

घाइतेमध्ये सेलिशकुमार पटेल र फिस्टेल एयरका पाइलट रवीन्द्र प्रजापतिलाई प्रभु एयरको हेलिकाेप्टरमार्फत उपचारका लागि काठमाडौंस्थित मेडिसिटी अस्पताल ल्याइएको छ ।

त्यस्तै, डाइनेस्टी एयरका पाइलट प्रजल के.सी. को लुक्लास्थित निकोल निक्की अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएकाे छ ।

सुझावित समाचार