काठमाडौं । बडादसैँका अवसरमा सर्वसाधारणको आवतजावत सहज बनाउन सशस्त्र प्रहरी बल नेपालले काठमाडौं उपत्यकामा निःशुल्क बससेवा सञ्चालन गरेको छ।
दसैँका वेला सार्वजनिक यातायातका साधन न्यून संख्यामा सञ्चालन हुने भएकाले नागरिकलाई आवतजावतमा सहजता प्रदान गर्ने उद्देश्यले दुईवटा बस निःशुल्क रूपमा सञ्चालन गरिएको सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।
थापाका अनुसार निःशुल्क बससेवा सोमबारदेखि तीन दिनसम्म सञ्चालन हुनेछ। दुवै बस बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म उपत्यकाका विभिन्न रुटमा चल्नेछन्।
सशस्त्र प्रहरी बलको केन्द्रीय कार्यालय हल्चोकबाट छुट्ने पहिलो बसले बालाजु, नयाँ बसपार्क, कोटेश्वर, सातदोबाटो र बल्खुलगायत क्षेत्रका यात्रुलाई सेवा प्रदान गर्नेछ।
त्यसैगरी, हल्चोकबाटै सञ्चालन हुने दोस्रो बसले सीतापाइला, कलंकी, बल्खु, कोटेश्वर र नयाँ बसपार्कलगायतका क्षेत्रलाई समेट्नेछ।
दसैँका वेला सार्वजनिक सवारीसाधनको उपलब्धता कम हुने अवस्थामा सञ्चालन गरिएको निःशुल्क बससेवाबाट उपत्यकामा रहेका सर्वसाधारणलाई आवतजावत गर्न सहज हुने अपेक्षा गरिएको छ।