काठमाडौं। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले नेपाल प्रिमियर लिग (एनपिएल)लाई औपचारिक मान्यता दिएको निर्णयको कर्णाली याक्सले स्वागत गरेको छ। कर्णाली याक्सले यसलाई नेपाली क्रिकेटको विकासका लागि ऐतिहासिक उपलब्धि भनेको छ।
कर्णाली याक्सका अध्यक्ष गृहेन्द्र घिमिरेले सोमबार जारी गरेको वक्तव्यमा आइसिसीको यो मान्यताले नेपाली क्रिकेटको समग्र विकास र विस्तारका साथै घरेलु प्रतियोगिताको अन्तर्राष्ट्रिय पहिचानलाई थप मजबुत बनाउन महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन्।
‘आइसिसीको मान्यताले एनपिएलमा आबद्ध खेलाडीहरूलाई अन्तर्राष्ट्रियस्तरको अनुभव प्राप्त हुनेछ। साथै, क्लबहरूलाई थप अनुशासित र जिम्मेवार बनाउँदै अन्तर्राष्ट्रिय मापदण्डअनुरूप अघि बढ्न प्रेरित गर्ने भएकाले यो निर्णय कोसेढुंगा साबित हुनेछ,’ वक्तव्यमा भनिएको छ।
अध्यक्ष घिमिरेका अनुसार आइसिसीको मान्यताले खेलाडी, व्यवस्थापक, लगानीकर्ता तथा निजी क्षेत्रको विश्वास बढाउन महत्त्वपूर्ण भूमिका खेल्नेछ। यसबाट नेपालका विभिन्न प्रदेशका खेलाडीहरूले आफ्नो क्षमता र प्रतिभा प्रदर्शन गर्ने थप अवसर पाउनेछन् भने समग्र नेपाली क्रिकेटको भविष्यलाई नयाँ दिशा मिल्नेछ।
यसअघि अन्तर्राष्ट्रिय टेस्ट राष्ट्रका खेलाडी भित्र्याउँदा निश्चित कोटा र गोलाप्रथामा आधारित प्रणालीका कारण टोलीहरूले आफूले चाहेका खेलाडी छनोट गर्न कठिनाइ भोग्नुपरेको वक्तव्यमा उल्लेख छ। अब त्यस्तो सीमितता हट्दै टोलीहरूले आफूलाई आवश्यक पर्ने उत्कृष्ट अन्तर्राष्ट्रिय खेलाडी भित्र्याउन सक्ने वातावरण बनेको कर्णाली याक्सको विश्वास छ। यसले क्लबहरूबिच स्वस्थ र प्रतिस्पर्धात्मक वातावरण निर्माण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
नेपाली राष्ट्रिय टोलीले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउँदै आएको अवस्थामा एनपिएलजस्ता लिगमार्फत पनि नेपाली क्रिकेटले अन्तर्राष्ट्रिय बजारमा थप पहिचान बनाउने अवसर पाउने कर्णाली याक्सले जनाएको छ। यसले खेल पर्यटनको प्रवर्द्धन गर्नुका साथै नेपालको क्रिकेट यात्रालाई नयाँ उचाइमा पुर्याउन सहयोग गर्ने विश्वाससमेत व्यक्त गरिएको छ।