अवैध लागुऔषधसहित विभिन्न जिल्लाबाट नौजना पक्राउ

शुक्रबार, ६ कार्तिक, २०८३
डिजिटल संस्करण

काठमाडौं । प्रहरीले देशका विभिन्न जिल्लाबाट अवैध लागुऔषधसहित नौजनालाई पक्राउ गरेको छ। कैलाली, नवलपरासी पश्चिम, मोरङ, कञ्चनपुर, सुनसरी, पर्सा र चितवनबाट उनीहरू पक्राउ परेका हुन्।

प्रहरीका अनुसार कैलालीको भजनी नगरपालिका– ३ बाट २८ वर्षीय हरिप्रसाद डगौरा ७७० मिलिग्राम ब्राउनसुगरजस्तो देखिने पदार्थसहित पक्राउ परेका छन्। यस्तै, धनगढी उपमहानगरपालिका– ७ बाट ७० मिलिग्राम ब्राउनसुगरजस्तो पदार्थसहित १८ वर्षीय किशोरलाई नियन्त्रणमा लिइएको छ।

नवलपरासी पश्चिमको सुनवल नगरपालिका– १० बाट २३ वर्षीय सन्दीप चौधरीलाई २८८ ट्याब्लेट स्पास्मो, १७० ट्याब्लेट नाइट्रोजन, २४० ग्राम गाँजा र २४ हजार १५० रुपैयाँसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

मोरङको सुन्दरहरैँचा नगरपालिका– १० बाट २७ वर्षीय समीर राई ३८० ट्याब्लेट ट्रामाडोल र ३७० ट्याब्लेट स्पास्पेनसहित पक्राउ परेका छन्। त्यस्तै, कञ्चनपुरको पुनर्वास नगरपालिका– ११ बाट १९ वर्षीय कुशल विष्ट ४५० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित पक्राउ परेका छन्।

सुनसरीको धरानबाट २६ वर्षीय उत्तम राईसहित दुईजनालाई ३६० ट्याब्लेट ट्रामाडोल र ३६२ ट्याब्लेट स्पास्पेनसहित प्रहरीले नियन्त्रणमा लिएको छ।

यसैगरी, पर्साको वीरगन्जबाट २१ वर्षीय गणेश साह कलवार दुई ग्राम ३८० मिलिग्राम ब्राउनसुगरजस्तो देखिने पदार्थसहित पक्राउ परेका छन्। चितवनको रत्ननगरबाट २२ वर्षीय अभिजित नेपाल १५० ट्याब्लेट ट्रामाडोलसहित पक्राउ परेको प्रहरीले जनाएको छ।

पक्राउ परेका सबैमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

सुझावित समाचार