साउदीमा ड्रोन आक्रमणमा नेपालीको मृत्यु भएको घटनाप्रति एमालेद्वारा दुःख व्यक्त

शुक्रबार, ७ कार्तिक, २०८३
डिजिटल संस्करण

काठमाडौं । साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको ड्रोन आक्रमणका क्रममा खसेको भग्नावशेष लागेर एक नेपाली नागरिकको मृत्यु भएको घटनाप्रति नेकपा (एमाले)ले गहिरो दुःख व्यक्त गरेको छ।

एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख नीरज आचार्यले शुक्रबार जारी गरेको वक्तव्यमा मृतक नेपाली नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेका छन्।

एमालेले निर्दोष नागरिकको ज्यान जाने गरी हुने हिंसात्मक घटनाहरू मानवता र मानवीय मूल्य–मान्यताविपरीत रहेको जनाएको छ। विश्व शान्तिको पक्षमा आफूहरू सधैँ प्रतिबद्ध रहेको उल्लेख गर्दै पार्टीले यस्ता अमानवीय घटनाको निन्दा र भर्त्सना गरेको छ।

नेपाल प्रत्यक्ष रूपमा संलग्न नरहेको वैदेशिक द्वन्द्वका कारण नेपाली नागरिकले ज्यान गुमाउनुपर्ने अवस्था अत्यन्त दुःखद र चिन्ताजनक रहेको एमालेको भनाइ छ।

पार्टीले वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारहरूको सुरक्षा र हित सुनिश्चित गर्न नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै विदेशमा कार्यरत नेपाली नागरिकको सुरक्षाका लागि आवश्यक पहल गर्न आग्रह गरेको छ।

सुझावित समाचार