वीरगन्ज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मधेश प्रदेशबाट खुलातर्फ केन्द्रीय सदस्य पदमा पर्साका राकेश सिंह उम्मेदवार बनेका छन्।
कांग्रेसमा आबद्ध भएको ४६ वर्षपछि सिंह पहिलोपटक मधेश प्रदेशबाट खुलातर्फ केन्द्रीय सदस्य पदका उम्मेदवार बनेका हुन्। लामो समयदेखि पार्टी राजनीतिमा सक्रिय रहे पनि आफू पटक–पटक पार्टी र सत्ताको अवसरबाट वञ्चित भएको उनको भनाइ छ।
सिंहले नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सर्वसम्मत वरिष्ठ उपसभापतिमा निर्वाचित विश्वप्रकाश शर्माको संयोजकत्वमा रहेको नीति प्रतिष्ठान विभागको सदस्यका रूपमा समेत काम गरेको बताएका छन्।
पर्सा निवासी सिंह ०३७ मा नेपाल विद्यार्थी संघको जिल्ला सदस्य बनेका थिए। त्यसपछि ०४५ मा ठाकुरराम बहुमुखी क्याम्पसको एकाइ अध्यक्ष बने। ०४९ सालमा भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा उनी सभापतिमा निर्वाचित भएका थिए।
त्यसैगरी, ०५३ सालमा नेपाल विद्यार्थी संघको केन्द्रीय सम्पादन सदस्य बनेपछि सिंह पार्टी राजनीतिमा थप सक्रिय भएका थिए।
लामो समयदेखि पार्टीमा सक्रिय रहे पनि अवसरबाट वञ्चित हुँदै आएको भन्दै सिंहले यसपटक भने आफू केन्द्रीय सदस्यमा निर्वाचित हुनेमा विश्वस्त रहेको बताए।
यसैबिच, नेपाली कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक डा. सुरेशराज आचार्यले अपराह्न ४ बजे बन्दसत्र सुरु हुने जानकारी दिएका छन्। बन्दसत्रले सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षका चारवटा प्रतिवेदन पारित गर्नेछ।
त्यसपछि नयाँ नेतृत्व चयनका लागि मतदान हुनेछ। निर्वाचन कार्यतालिकाअनुसार असोज २२ गते बिहान ७ बजेदेखि मतदान सुरु गर्ने तयारी गरिएको छ। हाल उम्मेदवारहरूको दाबी–विरोधको प्रक्रिया चलिरहेको छ।