बेथितिमा संलग्न अस्पताल र चिकित्सकप्रति निर्मम बन्दै सरकार

बुधबार, २१ असोज, २०८३
डिजिटल संस्करण

काठमाडौं  । सरकारले मेडिकल क्षेत्रमा देखिएको बेथिति अन्त्य गर्दै यस क्षेत्रलाई जिम्मेवार र व्यवस्थित बनाउन कडा कदम चाल्ने भएको छ।

विशेषगरी मेडिकल कलेजको निरीक्षणका वेला मात्रै फ्याकल्टीका रूपमा उपस्थित हुने तथाकथित ‘खडेबाबा’ (घोस्ट फ्याकल्टी) को प्रयोग रोक्न सरकार कडाइका साथ प्रस्तुत हुने भएको हो।

शिक्षामन्त्री सस्मित पोखरेलको निर्देशनअनुसार अनियमितता तथा बेथितिमा संलग्न मेडिकल कलेजको निगरानी बढाएर दोषीमाथि कडा कारबाही गर्ने तयारी भइरहेको छ। स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा अस्पताल तथा चिकित्सकबाट लापरबाही भइरहेको सम्बन्धमा प्राप्त सूचनाका आधारमा सरकारले बेथिति अन्त्य गर्न नयाँ कदम चाल्न लागेको हो।

मन्त्रालयका अनुसार सम्बन्धित सरकारी तथा नियामक निकायले देशभरका मेडिकल कलेजमा कार्यरत फ्याकल्टीहरूको विवरणमाथि सूक्ष्म निगरानी सुरु गर्ने तयारी गरेका छन्। फ्याकल्टीको नियुक्ति, नियमित उपस्थिति, अध्यापन, अस्पतालमा सेवा तथा निरीक्षणका क्रममा पेस गरिएका विवरणसमेत जाँचको दायरामा ल्याइनेछ।

वास्तविक रूपमा अध्यापन वा सेवा नगरी निरीक्षणका लागि मात्रै आफ्नो नाम, उपस्थिति वा कागजात प्रयोग गर्न दिएको प्रमाणित भएमा सम्बन्धित चिकित्सकमाथि कारबाही गरिने मन्त्रालय स्रोतले जनाएको छ।

गम्भीर संलग्नता प्रमाणित भएमा नेपाल मेडिकल काउन्सिलको लाइसेन्स निलम्बनदेखि खारेजीसम्मको प्रक्रिया अघि बढ्न सक्ने जनाइएको छ। विद्यार्थी तथा अन्य सरोकारवालाबाट प्राप्त सूचना, फोटो, भिडियो र अन्य प्रमाणसमेत अध्ययन गरिने बताइएको छ।

मन्त्रालयले मेडिकल कलेजमा वास्तविक रूपमा अध्यापन गर्ने फ्याकल्टी सुनिश्चित गर्नुपर्नेमा जोड दिएको छ। ‘खडेबाबा’ प्रयोग गरेर मेडिकल कलेजको सिट संख्या वा मान्यतालाई प्रभावित गर्ने अभ्यास प्रमाणित भएमा संलग्न सबैलाई जवाफदेही बनाइने मन्त्रालयको भनाइ छ।

हालै बसेको चिकित्सा शिक्षा आयोगको बैठकमा समेत मेडिकल क्षेत्रमा देखिएको यस्तो बेथितिको विषय उठेको थियो। बैठकमा यस्ता बेथितिमा संलग्न अस्पताल तथा चिकित्सकप्रति निर्मम रूपमा प्रस्तुत हुनुपर्ने धारणा चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा. डा. देवेन्द्र खत्रीले राखेका थिए।

यसैगरी, शिक्षा मन्त्रालयले पनि यस विषयमा मन्त्रालयमा आएका गुनासोलाई लिएर सरोकारवालासँग छलफल तथा अन्तरक्रिया गरेको जनाएको छ। मेडिकल शिक्षामा हुने अनियमितता र बेतिथि नियन्त्रणका लागि आवश्यक कदम चाल्ने मन्त्रालयको तयारी छ।

सुझावित समाचार