गुल्मीमा सात वर्षमा करेन्ट लागेर १५ जनाको मृत्यु

बिहिबार, २२ असोज, २०८३
डिजिटल संस्करण

गुल्मी । गुल्मीमा करेन्ट लागेर पछिल्लो सात वर्षमा १५ जनाको मृत्यु भएको छ। नेपाल विद्युत् प्राधिकरणको लापरबाहीका कारण अव्यवस्थित तार तथा पोलबाट करेन्ट लागेर उनीहरूको मृत्यु भएको हो।

करेन्ट लागेर मृत्यु हुनेमध्ये चालू आर्थिक वर्षको पाँच महिनामा मात्रै चारजना छन्। त्यसअघि ०७६ मा एकजना, ०७७ मा एकजना, ०७८ मा तीन जना, ०७९ मा दुईजना, ०८१ मा दुईजना र ०८२ मा दुईजनाको मृत्यु भएको थियो।

०८३ जेठमा मालिका– ३, ह्वाङ्दीका सूर्यबहादुर थापा, असारमा धुर्कोट– ५, मन्थरकी हुमकला भण्डारी, भदौमा मदाने– ४, बावनपानीकी ढालकुमारी खत्री र असोजमा धुर्कोट– ५, सिमलचौरका ऋषिराम भण्डारीको करेन्ट लागेर मृत्यु भएको प्रहरीको तथ्यांक छ।

त्यस्तै, ०७६ असोजमा छत्रकोट– ६ की तुलसीदेवी घिमिरे, ०७७ मंसिरमा मुसिकोट– ७ का धीरज कार्की, ०७८ वैशाखमा इस्मा– २ का प्रकाश मुखिया, ०७८ असारमा रुरुक्षेत्र– १ का सुन्दर श्रेष्ठ र ०७८ भदौमा मदाने– १ का विक्रम राउतको करेन्ट लागेर मृत्यु भएको थियो। त्यसपछि ०७९ वैशाखमा इस्मा– २ का गोकर्ण थापा र भदौमा धुर्कोट– ४ का मानबहादुर रानाको करेन्ट लागेर मृत्यु भएको थियो।

त्यसपछि ०८१ असोजमा मालिका– २, दर्लिङकी माया रोकामगर र चैतमा मुसिकोट– ७, पल्टारकी चन्द्रकला कुमालको तथा ०८२ असारमा मुसिकोट– २, काब्राचौरका यमलाल सापकोटा र धुर्कोट– ७, द्वानेटाका झविन्द्र घिमिरेको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।

करेन्ट लागेर मृत्यु भएका घटनामध्ये तीनजनाको घरायसी काम गर्ने क्रममा र तीनजनाको विद्युतीय धरापमा परेर मृत्यु भएको हो। बाँकी नौजनाको नेपाल विद्युत् प्राधिकरणको लापरबाहीका कारण अव्यवस्थित तार तथा पोलमा करेन्ट लागेर मृत्यु भएको देखिन्छ।

प्राधिकरणले जथाभावी खेतबारी हुँदै गरेको लाइन विस्तार तथा नांगाे तार खुला छाडेका कारण धेरैले करेन्ट लागेर ज्यान गुमाएका छन्।

चार वर्षमा १४ जना घाइते
जथाभावी विस्तार गरिएका तार तथा पोलमा करेन्ट लागेर गुल्मीमा पछिल्ला चार वर्षमा १४ जना घाइते भएका छन्। ०८० भदौमा धुर्कोट– ६ का राजेन्द्र कुँवर र इस्मा– ६, बुल्डका मोतीकुमार, ०८० मंसिरमा इस्मा– ५, मैदानका पदम बस्नेत, ०८१ जेठमा अर्घाखाँची छत्रदेव– ८, नेटाका विजय परियार, ०८१ असारमा रोल्पा सुनछहरी– ४ का ओमप्रकाश घर्ती, ०८१ भदौमा गुल्मी दरबार– ७, गुलामकोट सागर कार्की, ०८१ असोजमा मालिका– २, दर्लिङकी माया रोकामगर, ०८१ चैतमा मुसिकोट– २ का कर्णबहादुर माझी घाइते भएका थिए।

त्यस्तै, ०८३ वैशाखमा रुपन्देही देवदह– ७ की ज्योति डुबे र भागिर डुबे, ०८३ जेठमा मालिका– ४ अर्खाबाङका विशाल अर्याल, ०८३ असारमा मुसिकोट– १, थामडाँडाकी नमिता विक, ०८३ भदौमा छत्रकोट– ३, मुरारामका कृष्णप्रसाद पन्त तथा ०८३ असोजमा रिब्दीकोट– २ का देबहादुर करेन्ट लागेर घाइते भएका थिए।

प्राधिकरणले जथाभावी लाइन विस्तार नगर्न आग्रह गर्ने स्थानीयवासीलाई नै मुद्दा मामिलामा फसाउने, तर आफ्नै हेलचेक्य्राइँका कारण मृत्यु हुनेहरूलाई राज्यकोषबाट क्षतिपूर्ति दिएर उम्कने गरेको सर्वसाधारणको आरोप छ।

धेरै ठाउँमा तारहरू किसानका बारीका रूखमा बाँधेर, बाँसका घरामा अड्काएर लैजाने गरिएको छ। रेसुंगा नगरपालिका– २ का एक स्थानीय उपभोक्ताले भने, ‘जथाभावी रूखमा तार तानेर ल्याउँदा भोलि दुर्घटना हुन सक्छ। सदरमुकामभित्रै रहेको हाम्रो टोलमा एउटा पोल राखेर लाइन विस्तार गरिदिनुस् भनेर प्रस्ताव राख्दा मेरो वैशाख महिनामा निकालेको मिटर असोजसम्म जोडिएन।’

उनले थपे, ‘मिटर नजोडिदिने अनि बिजुली नै नबाले पनि महसुल र जरिवाना तिर्नुपर्ने किन ?’ भन्दै प्रश्न गर्दा आफूविरुद्ध हातपात र मुद्दा मामिलासमेत गरिएको बताए।

बजेट अभावले तार व्यवस्थापनमा समस्या
नेपाल विद्युत् प्राधिकरणका प्रमुख मनोज अर्यालले सरकारले बजेट नदिएका कारण तार व्यवस्थापन गर्न नसकिएको बताए। ‘हामीले दीर्घकालीन, अल्पकालीन र मध्यकालीन योजना बनाएर पेस गरेका थियौँ। तर, अहिलेको सरकारले बजेट नदिएका कारण व्यवस्थापन गर्न समस्या भएको छ,’ उनले भने।

सुझावित समाचार