आइजिपी डा.केसीले सम्हाले प्रहरी कमान्ड

बुधबार, १८ कार्तिक, २०८३
डिजिटल संस्करण

काठमाडौं/ नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक डा. मनोजकुमार केसीले कार्यभार सम्हालेका छन्। गृह मन्त्रालयमा दर्ज्यानी चिन्ह ग्रहण गरेपछि प्रहरी प्रधान कार्यालय पुगेर उनले कार्यभार सम्हालेका हुन्। उनलाई एआइजी, डिआइजीलगायत उच्च अधिकारीले स्वागत गरेका थिए। 

पदभार ग्रहणपछि उनले प्रहरी अधिकारीलाई निर्देशन दिएका छन्। 

यसअघिका महानिरीक्षक दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा जिम्मेवारी दिएर सरकारले डा. केसीलाई नियुक्त गरेको हो । 

 आइजिपीमा नियुक्त भएपछि डा. केसीले संविधान र कानुनप्रति अविचलित रही नागरिकको सुरक्षा र सम्मानलाई सर्वोपरि राख्दै संगठनको मर्यादा, निष्पक्षतामा कुनै सम्झौता नगर्ने र आफ्नो कार्यकालको मूल्यांकन नेपाली जनतालाई के दिन सके भन्नेमा आधारित रहने गरी प्राप्त जिम्मेवारी निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। 

प्रहरी महानिरीक्षक केसीले साइबर ठगी, वित्तीय अपराध, क्रिप्टो कारोबार, डिपफेक एवं भ्रामक सूचनाहरू गम्भीर चुनौतीको रूपमा देखा परेको र त्यसलाई सम्बोधन गर्नुपर्ने तथा विपत् व्यवस्थापनमा समेत सुदृढीकरण गर्नुपर्ने आवश्यकता रहेको बताए।  स्रोतसाधन, भवनको अभाव, लामो कार्य घण्टा, सरुवा बढुवामा निष्पक्षतालगायतका आन्तरिक चुनौतीहरू सम्बोधन गर्न प्रणालीगत रूपमा विकास गर्नुपर्ने जरुरी रहेको र यसलाई आफूले अवसरको रूपमा लिएको उल्लेख गर्दै उनले भने, ‘सशस्त्र द्वन्द्व, भूकम्प, कोभिडको महामारी तथा शान्ति मिसनहरूमा नेपाल प्रहरीले आफ्नो क्षमता प्रमाणित गरिसकेको छ। हामीसँग अनुभव छ, जनशक्ति छ, सेवा गर्ने इच्छाशक्ति पनि छ र यो सबै कामहरू गर्नका लागि हामीले हाम्रो जनशक्तिलाई विशिष्कृीत र मनोबल युक्त बनाउनुपर्नेछ।’ प्रहरी कर्मचारीहरूको गुनासो सम्बोधनलाई प्राथमिकतामा राखेर तत्काल एउटा संयन्त्र कार्यान्वयनमा ल्याउने र अरू योजनाहरू क्रमश: लागू गर्ने अवस्था बनाउँदै जाने  उनले बताए। आधुनिक प्रहरीमा जनतासँगको सम्बन्ध नै महत्वपूर्ण स्रोत भएको चर्चा गर्दै आवश्यक स्रोतसाधन, कानुनी स्पष्टता, कार्यगत स्वायत्तता र प्रहरीलाई प्रभावबाट मुक्त राख्न उहाँले नेपाल सरकारसँग सहयोग तथा आग्रहसमेत गरे।
 

सुझावित समाचार