मकवानपुर । मकवानपुरमा असोज महिनामा सवारी दुर्घटना, आत्महत्या र बाढीपहिरोका घटनामा परी १८ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरको तथ्यांकअनुसार एक महिनामा भएका ५२ सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने आत्महत्याबाट नौ र बाढीपहिरोका घटनामा तीनजनाले ज्यान गुमाएका छन् ।
यी घटनामा सवारी दुर्घटनातर्फ ७८ जना र बाढीपहिरोतर्फ एकजना घाइते भएका छन् । प्रहरीले सार्वजनिक गरेको असोज महिनाको तथ्यांकअनुसार जनधनको क्षतिसँगै लागुऔषध कारोबार, घरेलु हिंसा र अन्य आपराधिक घटनासमेत जिल्लाको सुरक्षा व्यवस्थापनका चुनौती रहेको देखाएको छ ।
एक महिनामा विभिन्न प्रकृतिका १०३ वटा मुद्दा दर्ता भएकामा ६० वटा फर्स्याेट भएका छन् भने ४३ वटा अनुसन्धान तथा कारबाहीको प्रक्रियामा छन् ।
असोज महिनामा मकवानपुरमा भएका ५२ सवारी दुर्घटनामा ८१ वटा सवारीसाधन संलग्न थिए । दुर्घटनामा ६ जनाको मृत्यु हुँदा ७८ जना घाइते भएका छन् । ट्राफिक नियम उल्लंघन गर्ने ८५५ वटा सवारीसाधनलाई कारबाही गर्दा प्रहरीले आठ लाख ५५ हजार पाँच सय रुपैयाँ राजस्व संकलन गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।
उनका अनुसार मकवानपुरमा एक महिनामा लागुऔषधसम्बन्धी १६ वटा मुद्दा दर्ता भएका छन् । कारोबार तथा ओसारपसारमा संलग्न रहेको आरोपमा ४६ जना पक्राउ परेका छन् । उनीहरूको साथबाट खैरो हेरोइन, गाँजा, ट्रामाडोल क्याप्सुल र नाइट्राजेपाम ट्याब्लेटलगायत लागुऔषध बरामद गरिएको उनको भनाइ छ ।
यस्तै, जिल्ला प्रहरी कार्यालय मकवानपुरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित २४ वटा उजुरी असोज महिनामा प्रहरीमा दर्ता भएका छन् । तीमध्ये २० वटा फर्स्याेट भएका छन् ।
घरेलु हिंसासम्बन्धी मात्रै १८ वटा उजुरी परेका छन् । तीमध्ये ६ वटा मिलापत्रबाट टुंग्याइएका छन् भने दुईवटा अदालत पठाइएको प्रवक्ता काफ्लेले जानकारी दिए ।
यसै अवधिमा ३० जना हराएको भन्दै उजुरी परेकोमा २२ जना फेला परेका छन् । जिल्ला प्रहरी कार्यालयमा परेका १४३ वटा ठाडो उजुरीमध्ये १३७ वटा फर्स्याेट भएका छन् ।
यसैगरी मकवानपुर प्रहरीले विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ६८ जना प्रतिवादीलाई असोज महिनामा पक्राउ गरेको छ । उनीहरूबाट २४८ वर्ष १५ दिनबराबरको कैद सजाय कार्यान्वयन गरिएको छ भने ४० लाख ३० हजार तीन सय रुपैयाँ जरिवाना असुल गरिएको छ ।
मकवानपुर प्रहरी प्रवक्ता काफ्लेले जिल्लामा अपराध नियन्त्रण तथा नागरिक सचेतना अभिवृद्धिका लागि विभिन्न विद्यालय र समुदायकेन्द्रित ८६ वटा सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको जानकारी दिए । उनका अनुसार नियमित गस्ती, विशेष निगरानी र समुदायसँगको सहकार्यलाई पनि निरन्तरता दिइएको छ ।