हेटौँडा/ मकवानपुरको बकैया गाउँपालिका–१, बाघफलमा श्रीमतीसँग झगडा तथा कुटपिट हुँदा श्रीमानको मृत्यु भएको छ । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले श्रीमतीलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।
प्रहरीका अनुसार कात्तिक ११ गते राति करिब १ बजे बाघफलमा ५३ वर्षीय टेकबहादुर मुक्तान र उनकी ४५ वर्षीया श्रीमती प्रेमकुमारी मुक्तानबिच झगडा तथा कुटपिट भएको थियो ।
घटनामा घाइते भएका टेकबहादुरको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनापछि प्रहरीले प्रेमकुमारीलाई नियन्त्रणमा लिएको थियो । उनलाई मकवानपुर जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।