काठमाडौं । नेपालले आठ हजार मिटरभन्दा अग्ला थप ६ चुचुरालाई छुट्टाछुट्टै हिमालका रूपमा अन्तर्राष्ट्रिय मान्यता दिन प्रस्ताव गरेको छ।
प्रस्ताव स्वीकार भए विश्वका मान्यताप्राप्त आठ हजारभन्दा अग्ला हिमालको संख्या १४ बाट २० र नेपालका यस्ता हिमालको संख्या आठबाट १४ पुग्नेछ।
काठमाडौंमा जारी अन्तर्राष्ट्रिय पर्वतारोहण महासंघ (युआइएए)को साधारणसभाका अवसरमा नेपाल पर्वतारोहण संघ (एनएमए)का अध्यक्ष फुर गेल्जे शेर्पाले ती चुचुराको भौगोलिक, वैज्ञानिक र पर्वतारोहणसम्बन्धी आधारमा औपचारिक मूल्यांकन गर्न आग्रह गरेका हुन्।
हाल अन्तर्राष्ट्रिय रूपमा मान्यताप्राप्त विश्वका १४ आठ हजारभन्दा अग्ला हिमालमध्ये आठ नेपालमा वा नेपालको सीमामा पर्छन्। ती सगरमाथा, कञ्चनजंघा, ल्होत्से, मकालु, चो ओयु, धौलागिरि प्रथम, मनास्लु र अन्नपूर्ण प्रथम हुन्।
नेपालले थप मान्यता मागेका चुचुरामा कञ्चनजंघा हिमशृंखलाका कञ्चनजंघा साउथ, कञ्चनजंघा वेस्ट, कञ्चनजंघा सेन्ट्रल र यालुङ खाङ छन्। त्यस्तै, सगरमाथा–ल्होत्से हिमशृंखलाका ल्होत्से मिडल र ल्होत्से शारलाई पनि छुट्टाछुट्टै हिमालको मान्यता दिन आग्रह गरिएको छ।
नेपाल सरकारले यी चुचुरामा आरोहण अनुमति दिँदै आएको छ। आरोहीहरूले तिनको आरोहण गरी प्रमाणपत्रसमेत प्राप्त गरेका छन्। तर, छुट्टाछुट्टै आठ हजारभन्दा अग्ला हिमालका रूपमा अन्तर्राष्ट्रिय मान्यता भने पाएका छैनन्।
शेर्पाले यी चुचुराको आफ्नै नाम, भौगोलिक पहिचान र शिखरसम्म पुग्ने अलग मार्ग रहेको बताए। स्थानीय समुदायले समेत तिनलाई फरक पहिचानका चुचुराका रूपमा चिन्दै आएको उनको भनाइ छ।
‘एउटा चुचुरो आरोहण गर्नु अर्को चुचुरोमा पुग्नु होइन। प्रत्येकको आरोहण फरक लक्ष्य हो र त्यसका लागि छुट्टै आरोहण अभियान आवश्यक पर्छ,’ उनले भने।
आठ हजार मिटरभन्दा माथिको आरोहणका लागि असाधारण सहनशक्ति, प्राविधिक दक्षता, अनुभव र सावधानीपूर्वकको तयारी आवश्यक पर्ने भन्दै उनले प्रत्येक अलग शिखरको आरोहणलाई महत्त्वपूर्ण पर्वतारोहण उपलब्धिका रूपमा मूल्यांकन गर्नुपर्ने बताए।
संघका पूर्वअध्यक्ष र पूर्वकार्यसमिति सदस्यहरूले वर्षौँदेखि यो विषय उठाउँदै आए पनि अपेक्षित सम्बोधन हुन नसकेको शेर्पाले उल्लेख गरे।
यो विषयलाई प्राविधिक आधारसहित अघि बढाउन विज्ञ टोली गठन गरिएको उनले जानकारी दिए। मधुसूदन अधिकारीको नेतृत्वमा टोलीका पाँच सदस्यले यी चुचुरालाई छुट्टाछुट्टै मान्यता दिनुपर्ने आधारसहित विस्तृत प्रस्तुति दिने उनले बताए।
‘हाम्रो उद्देश्य मान्यताप्राप्त हिमालको संख्या बढाउनु मात्र होइन। यी चुचुराको अलग पहिचान, स्थानीय नाम, भौगोलिक विशेषता र छुट्टाछुट्टै आरोहण मार्गले निष्पक्ष तथा व्यावसायिक मूल्यांकन पाउनुपर्छ भन्ने हो,’ उनले भने।
कुनै चुचुरोलाई छुट्टै हिमाल मान्ने विषयमा अन्तर्राष्ट्रिय सहमति आवश्यक रहेको उल्लेख गर्दै शेर्पाले हिमाल वर्गीकरणको स्पष्ट वैज्ञानिक पद्धति विकास गर्न नेपालले नेतृत्व लिनुपर्ने धारणा राखे।
एनएमएको आतिथ्यमा भइरहेको साधारणसभामा पाँच महादेशका ४५ देशबाट ९५ प्रतिनिधि सहभागी भएका छन्। नेपालमा यसअघि सन् १९८२ र २०११ मा युआइएएको साधारणसभा आयोजना भएको थियो। यो तेस्रो आयोजना हो।
सन् १९८२ को भेलाले पर्वतीय वातावरणको संरक्षण, प्राकृतिक स्रोतको हेरचाह र स्थानीय समुदायको सांस्कृतिक पहिचानको सम्मानमा जोड दिँदै काठमाडौं घोषणापत्र जारी गरेको थियो।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलकाे प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा युआइएएका अध्यक्ष पिटर मुइरले नेपालमा हालै भएका प्राकृतिक विपतले जलवायु परिवर्तनको गम्भीरता स्मरण गराएको बताए। उनले पर्वतीय समुदायप्रति ऐक्यबद्धता जनाउँदै पर्वतारोहणसम्बन्धी गतिविधिमा युवा सहभागिता बढाउनुपर्नेमा जोड दिए।
साधारणसभाअघि अक्टोबर २७ र २८ मा काठमाडौंमा तेस्रो युआइएए पर्वतीय सुरक्षा गोष्ठीसमेत आयोजना गरिएको थियो। त्यसमा विभिन्न देशका ६० भन्दा बढी पर्वतारोही, चिकित्सक, उद्धारकर्ता, प्यारामेडिक्स, बिमा प्रतिनिधि र विज्ञ सहभागी भएका थिए। सहभागीहरूले नुवाकोटको ककनीस्थित स्काउट परिसरमा व्यावहारिक उद्धार अभ्यास र प्रशिक्षणसमेत लिएका थिए।