हेटौँडामा १ लाख ४० हजार रुपैयाँका पटाका बरामद गरी नष्ट

सोमबार, १६ कार्तिक, २०८३
डिजिटल संस्करण

मकवानपुर/ मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५ स्थित पूर्व-पश्चिम राजमार्गबाट सशस्त्र प्रहरीले करिब १ लाख ४० हजार रुपैयाँ मूल्यबराबरका प्रतिबन्धित पटाका बरामद गरी नष्ट गरेको छ।

सशस्त्र प्रहरी बल नेपाल नं. १४ गण हेडक्वार्टर मकवानपुरबाट खटिएको टोलीले आइतबार दिउँसो वीरगन्जबाट हेटौँडातर्फ आउँदै गरेको विद्युतीय गाडी जाँच गर्ने क्रममा पटाका बरामद गरेको हो ।

सशस्त्र प्रहरीका अनुसार गणबाट सशस्त्र प्रहरी नायब निरीक्षक वीरबहादुर लामाको नेतृत्वमा खटिएको टोलीले गाडी जाँच गरेको थियो। त्यसक्रममा रकेट पटाका ४० प्याकेट, झिरझिरे १८० प्याकेट, नागिन पटाका १५ प्याकेट र किङ कोब्रा पटाका ८८० प्याकेट फेला परेको थियो।

बरामद गरिएका पटाकाको अनुमानित मूल्य १ लाख ४० हजार रुपैयाँ रहेको सशस्त्र प्रहरीले जनाएको छ। 
बरामद सामग्री सोमबार साँझ नेपाल प्रहरी, स्थानीय जनप्रतिनिधि र पत्रकारको रोहबरमा सशस्त्र प्रहरी गणपरिसरमा खाल्डो खनेर पुरिएको छ।

चाडपर्वको समयमा पटाका तथा अन्य विस्फोटक र प्रज्वलनशील सामग्रीको ओसारपसार हुन सक्ने भएकाले सुरक्षा निकायले राजमार्ग तथा सीमा क्षेत्रमा निगरानी बढाउँदै आएका जनाइएको छ।

सुझावित समाचार