काठमाडाैं । बिचौलिया र न्यायाधीशको संवाद र भेटघाटबारे निष्पक्ष छानबिन गर्न नेपाल बार एसोसिएसनले माग गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश हरि प्रसाद फुयाल र बिचौलिया इनम सापकोटाबिचको संवाद बाहिरिएपछि त्यसले सार्वजनिक चासो निम्त्याएको भन्दै बारले बिहीबार आफ्नो धारणा सार्वजनिक गरेको हो ।
‘सार्वजनिक भएका समाचारमा उल्लिखित आरोप तथा विवरणलाई नै अन्तिम सत्य वा कुनै व्यक्तिविरुद्धमा दोष नै प्रमाणित भइसकेको निष्कर्षका रूपमा नेपाल बार एसोसिएसनले लिन मिल्दैन,’ महासचिव केदार कोइरालाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘प्रत्येक व्यक्तिलाई निष्पक्ष छानबिन, आफ्नो धारणा प्रस्तुत गर्ने अवसर र प्रचलित कानुनबमोजिमको न्यायिक प्रक्रियाको पूर्ण प्रत्याभूति हुनुपर्छ भन्ने मान्यता यस एसोसिएसनको दृढ धारणा हो । तथापि, न्यायपालिकाको उच्च नेतृत्व तथा न्यायाधीशहरूको आचरणसँग सम्बन्धित विषयमा सार्वजनिक रूपमा गम्भीर प्रश्न उठेपछि त्यसलाई केवल सञ्चारमाध्यममा आएको समाचारका रूपमा सीमित राख्नु पनि उचित नहुने एसोसिएसनको मान्यता छ । यस्तो संवेदनशील विषयका सम्बन्धमा सत्यतथ्य, निष्पक्ष, विश्वसनीय र पारदर्शी प्रक्रियाबाट छानबिन हुन आवश्यक छ ।’
प्रधानन्यायाधीशसँग सम्बन्धित समाचारले पनि गम्भीर सार्वजनिक चासो उत्पन्न गरेकाले यसलाई समाचारका रूपमा सीमित राख्नु उचित नहुने एसोसिएसनले जनाएको छ । ‘एसोसिएसनसँग सम्बन्धित सबै सक्षम निकायलाई सार्वजनिक भएका विषयको निष्पक्ष, स्वतन्त्र, विश्वसनीय र समयबद्ध छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न, कानुनविपरीत कार्य भएको प्रमाणित भएमा सम्बन्धित व्यक्तिको पद वा हैसियतको पर्वाह नगरी कानुनबमोजिम आवश्यक कारबाही गर्न तथा आरोप प्रमाणित नभएको अवस्थामा सम्बन्धित व्यक्तिको प्रतिष्ठा र संस्थागत मर्यादाको संरक्षण हुने गरी स्पष्टता प्रदान गर्न हार्दिक आग्रह गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।