काठमाडौंका विभिन्न क्षेत्रमा एक सातासम्म दैनिक साढे पाँच घण्टा विद्युत् कटौती हुने

शुक्रबार, १३ कार्तिक, २०८३
डिजिटल संस्करण

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विद्युत् वितरण प्रणाली भूमिगत गर्ने कार्यलाई तीव्रता दिँदै काठमाडौंका विभिन्न क्षेत्रमा एक सातासम्म विद्युत् आपूर्ति बन्द गर्ने भएको छ ।

प्राधिकरणका अनुसार कात्तिक १३ गतेदेखि २० गतेसम्म विभिन्न वितरण फिडरमा काम गर्नुपर्ने भएकाले दैनिक बिहान १०:३० बजेदेखि अपराह्न ४ बजेसम्म विद्युत् आपूर्ति अवरुद्ध हुनेछ ।

कुलेश्वर र बानेश्वर वितरण केन्द्रअन्तर्गतका विभिन्न क्षेत्रमा चरणबद्ध रूपमा विद्युत् कटौती गर्न लागिएको प्राधिकरणले जनाएको छ ।

निर्धारित तालिकाअनुसार कात्तिक १३ गते बलम्बु, थानकोट तथा मातातीर्थ हाइभिजन कोलोनी क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुनेछ । त्यसैगरी, कात्तिक १४ गते सीतापाइला, १५ गते कलंकी, थानकोट तथा रोपवे र १६ गते बाफल क्षेत्रमा विद्युत् अवरुद्ध हुनेछ ।

यस्तै, कात्तिक १७ गते शंखमूल, १८ गते सतुंगल, १९ गते स्युचाटार सबस्टेसन र २० गते पुनः सतुंगल क्षेत्रमा विद्युत् कटौती हुने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार कलंकी रिङरोडदेखि स्युचाटार सबस्टेसन, कलंकी चोकदेखि ताहाचल अड्डा, संयुक्त राष्ट्रसंघीय उद्यानदेखि बिजुलीबजार, धौलागिरि आवास, मातातीर्थ र हाज्मा पुल आसपासका क्षेत्रसमेत विद्युत् कटौतीबाट प्रभावित हुनेछन् ।

प्रतिकूल मौसमका कारण निर्धारित कार्यतालिकामा परिवर्तन वा रद्द हुन सक्ने प्राधिकरणले स्पष्ट पारेको छ । विद्युत् आपूर्ति बन्द हुँदा उपभोक्तामा पर्न जाने असुविधाप्रति प्राधिकरणले क्षमायाचना गरेको छ ।

प्राधिकरणले सम्बन्धित क्षेत्रका उपभोक्तालाई विद्युत् अवरुद्ध हुने समयलाई ध्यानमा राख्दै आवश्यक पूर्वतयारी गर्न आग्रह गरेको छ ।

null

सुझावित समाचार