दाङ/ दाङमा उत्पादन भएका अन्डा अब देशभर आपूर्ति हुने भएका छन्। नेपाल लेयर्स कुखुरापालक संघ दाङ र नेपाल एग ट्रेडिङ प्रालिको सहकार्यमा शुक्रबार तुलसीपुरमा अन्डा संकलन तथा वितरण डिपो सञ्चालनमा आएको छ। उक्त डिपोमार्फत स्थानीय किसानले उत्पादन गरेका अन्डा देशभर आपूर्ति गरिने भएको हो।
जिल्लामा उत्पादित अन्डालाई देशभर सहज रूपमा उपलब्ध गराउने उद्देश्यले डिपो सञ्चालनमा ल्याइएको प्रालिका अध्यक्ष राजेन्द्र लामिछानेले बताए। किसानले उत्पादन गरेको अण्डाको उचित मूल्यसमेत नपाइरहेको अवस्था रहेकाले एकद्वार प्रणालीमार्फत अन्डा खरिद गरी देशभर आपूर्ति गर्ने उद्देश्यले डिपो सञ्चालन गरिएको उनको भनाइ छ।
एउटा अण्डाको उत्पादन लागत १९ रुपैयाँ १२ पैसा पर्ने भए पनि किसानले सोभन्दा कम मूल्यमा बिक्री गर्नुपर्ने अवस्था रहेको नेपाल लेयर्स कुखुरापालक संघका केन्द्रीय अध्यक्ष विनोद पोख्रेलले बताए। एकद्वार प्रणालीमार्फत अन्डा बिक्री गर्न सके किसानले उत्पादन लागतअनुसारको मूल्य पाउने उनको विश्वास छ। उनका अनुसार जिल्लामा खपत भएर बाँकी रहेको अण्डा डिपोमार्फत देशका विभिन्न जिल्लामा आपूर्ति गरिनेछ।
हाल दाङमा दैनिक करिब दुई हजार पाँच सय कार्टुन अन्डा उत्पादन हुँदै आएको छ। नेपाल लेयर्स कुखुरापालक संघ दाङका अध्यक्ष ईश्वरप्रकाश श्रेष्ठका अनुसार उत्पादित अण्डामध्ये करिब २० प्रतिशत मात्रै जिल्लाभित्र खपत हुने गरेको छ। बाँकी ८० प्रतिशत अण्डा अन्य जिल्लामा निर्यात हुँदै आएको छ।
दाङमा हाल लेयर्स कुखुराको संख्या नौ लाखभन्दा बढी पुगेको छ। संघका सचिव रविन्द्रविक्रम केसीका अनुसार संघमा एक सय ५० भन्दा बढी किसान आबद्ध छन्।