जुनीचाँदेका स्वास्थ्य संस्थामा सिटामोलसमेत अभाव

आइतबार, १५ कार्तिक, २०८३
डिजिटल संस्करण

जाजरकोट । जुनीचाँदे गाउँपालिकाभित्रका स्वास्थ्य संस्थामा अत्यावश्यक औषधिको अभाव देखिएको छ ।

सामान्य ज्वरो र दुखाइ हुँदा प्रयोग गरिने सिटामोलसमेत नपाउँदा बिरामीहरू स्वास्थ्य संस्थाबाट रित्तो हात फर्किनुपर्ने अवस्था आएको छ । गाउँपालिकाले समयमै औषधि व्यवस्थापन गर्न नसक्दा नागरिकले आधारभूत स्वास्थ्य सेवा पाउनसमेत सास्ती खेप्नुपरेको छ ।

गाउँपालिकाभित्रका प्राथमिक स्वास्थ्य केन्द्र तथा स्वास्थ्य चौकीहरूमा औषधि अभाव भएपछि उपचारका लागि पुग्ने बिरामी निराश भएर फर्किनुपर्ने अवस्था रहेको स्वास्थ्यकर्मीहरूको गुनासो छ । प्राथमिक स्वास्थ्य केन्द्र गर्खाकोटका एक स्वास्थ्यकर्मीका अनुसार स्वास्थ्य संस्थामा औषधि माग्न आउने बिरामीलाई औषधि छैन भन्ने जवाफ दिनुपर्ने बाध्यता छ ।

स्वास्थ्य संस्थामा औषधि अभाव हुनुका साथै चिकित्सक नियमित उपस्थित नहुने र गाउँपालिकामा समस्या राख्न जाँदासमेत सम्बन्धित शाखाका कर्मचारी भेट्न मुस्किल हुने गरेको ती स्वास्थ्यकर्मीको गुनासो छ ।

शनिबार प्राथमिक स्वास्थ्य केन्द्र गर्खाकोटको अनुगमन तथा निरीक्षणका क्रममा संघीय सांसद खड्कबहादुर बुढाले समेत स्वास्थ्य संस्थाको सेवा प्रवाह र व्यवस्थापनमा समस्या देखेका छन् । स्वास्थ्य संस्थाको फार्मेसी निरीक्षण गर्दा सिटामोलजस्तो सामान्य औषधिसमेत अभाव रहेको पाइएको सांसद बुढाले बताए । अस्पतालमा रहेको भिडियो एक्सरे मेसिनसमेत सञ्चालनमा नरहेको उनको भनाइ छ ।

स्वास्थ्य संस्थाको अवस्था निरीक्षणपछि सांसद बुढाले नागरिकले पाउनुपर्ने आधारभूत स्वास्थ्य सेवामै समस्या देखिनु गम्भीर विषय भएको बताए । स्वास्थ्य संस्थामा अत्यावश्यक औषधि उपलब्ध नहुनु र भिडियो एक्सरेजस्तो सेवा दिने उपकरण सञ्चालनमा नआउनुले ग्रामीण क्षेत्रका नागरिकले स्वास्थ्य सेवाका लागि थप दुःख पाउनुपरेको उनले बताए ।

उनले स्वास्थ्य संस्थामा अत्यावश्यक औषधिको नियमित उपलब्धता, स्वास्थ्य उपकरणको सञ्चालन तथा स्वास्थ्यकर्मीको जिम्मेवारी सुनिश्चित गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।

यता, गाउँपालिकाले भने स्वास्थ्य संस्थाहरूका लागि आवश्यक औषधि खरिद गरिसकेको जनाएको छ । जुनीचाँदे गाउँपालिकाले औषधि खरिदका लागि २५ लाख रुपैयाँ बजेट व्यवस्थापन गरेको स्वास्थ्य शाखाका सहसंयोजक योगेश्वर बस्नेतले जानकारी दिए ।

उनका अनुसार आवश्यक औषधि पाँचदेखि ६ महिनासम्म पुग्ने गरी गाउँपालिकामा आइपुगेको छ । स्वास्थ्य संस्थाहरूबाट माग फाराम संकलन गरेर औषधि वितरणको काम सुरु गरिने उनले बताए ।

गाउँपालिका अध्यक्ष बेदबहादुर शाहीले पुरानो मौज्दातमा रहेको औषधि सकिएको र नयाँ औषधि खरिद प्रक्रियामा केही ढिलाइ हुँदा स्वास्थ्य संस्थाहरूमा अभाव देखिएको स्वीकार गरे । खरिद गरिएका औषधि केही दिनभित्रै सबै स्वास्थ्य संस्थामा पठाउने व्यवस्था मिलाइने उनले बताए ।

अध्यक्ष शाहीका अनुसार गाउँपालिकाको खातासम्बन्धी अद्यावधिक प्रक्रिया तथा पहिलो चरणमा कर्मचारीको तलब व्यवस्थापन गर्नुपर्दा प्रशासनिक प्रक्रिया केही ढिलो भएको हो । उनले स्वास्थ्य संस्थामा देखिएको औषधि अभावको समस्या तत्काल समाधान गर्ने प्रतिबद्धतासमेत जनाए ।

गाउँपालिकाले औषधि खरिदका लागि २५ लाख रुपैयाँ बजेट विनियोजन गरेको र औषधिसमेत गाउँपालिकामा आइपुगेको दाबी गरे पनि स्वास्थ्य संस्थाहरूमा भने सिटामोलजस्तो सामान्य औषधिसमेत उपलब्ध हुन सकेको छैन । ग्रामीण भेगका नागरिक सामान्य उपचारका लागि समेत घण्टौँ पैदल हिँडेर स्वास्थ्य संस्था पुग्ने गरेका छन् । तर, स्वास्थ्य संस्था पुगेपछि सामान्य औषधिसमेत नपाएर रित्तो हात फर्किनुपर्ने अवस्थाले नागरिकलाई थप सास्ती भएको सेवाग्राहीहरूको गुनासो छ ।

सुझावित समाचार