विराटनगर । लागुऔषध नियन्त्रण ब्युरो काठमाडौं र मोरङ प्रहरीको संयुक्त टोलीले गोली प्रहार गरेर हतियार र ब्राउनसुगरसहित तीनजनालाई पक्राउ गरेको छ ।
मोरङको रतुवामाईमा पक्राउ पर्नेहरूमा भारतको अररिया निवासी २२ वर्षीय दीपककुमार बोसाक र ४० वर्षीय पुरनकुमार बोसाक रहेका छन् । यस्तै, मोरङ रतुवामाई– १ चुनिमारीका ३५ वर्षीय योगेन्द्र ठाकुर पनि पक्राउ परेका छन् ।
प्रहरीको गोली लागेर दुवै भारतीय नागरिकहरू घाइते भएका छन् । उनीहरूको साथबाट करिब आधा किलो ब्राउनसुगर, एक थान घरेलु पेस्तोल, गोली र दुईवटा मोटरसाइकल बरामद भएको प्रहरीले जनाएको छ ।
मोरङ प्रहरी प्रवक्ता डिएसपी मकेन्द्रकुमार मिश्रका अनुसार बिहीबार राति भारतीय सीमावर्ती क्षेत्र रतुवामाई नगरपालिका– ६ शनिश्चरेमा लागुऔषध ओसारपसार भइरहेको सूचनाका आधारमा पुगेको प्रहरी टोलीले दुई मोटरसाइकलमा सवार तीनजनालाई नियन्त्रणमा लिएको छ ।
प्रहरीलाई देखेपछि उनीहरू भाग्न खोज्नुका साथै प्रहरीमाथि नै गोली प्रहारको प्रयास गरेकाले जवाफी कारबाहीमा प्रहरीले आठ राउन्ड गोली चलाएको मिश्रले बताए ।
प्रहरीको गोली लागेर घाइते भएकाको रतुवामाई नगर अस्पताल झुर्कियामा उपचार भइरहेको प्रहरीले जनाएको छ । यस्तै, पक्राउ परेका योगेन्द्रलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय सिजुवामा राखिएको छ। योगेन्द्र शारीरिक रूपमा फरक क्षमता भएका व्यक्ति रहेको प्रहरीले जनाएको छ।