मुगु । जिल्लाको खत्याड गाउँपालिका– २ स्थित जामबजारमा आगलागी हुँदा दुईवटा पसल जलेर नष्ट भएका छन्। बिहीबार राति करिब १२ बजे स्थानीय ४० वर्षीय विष्णु संज्यालको किराना पसल र ३७ वर्षीय अन्नाम दमाईंको कपडा सिलाइ गर्ने टेलरिङ पसलमा आगलागी भएको हो।
जस्ता र काठले निर्माण गरिएका पसलमा अचानक आगलागी हुँदा पसलभित्र रहेका सम्पूर्ण सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक रविराज थपलियाले जनाए।
आगलागी भएको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी श्रीकोटबाट प्रहरी सहायक निरीक्षक नन्दबहादुर रावतको नेतृत्वमा चारजनाको प्रहरी टोली घटनास्थल पुगेको थियो। स्थानीय र प्रहरीको संयुक्त प्रयासमा राति १ बजेर १० मिनेटतिर आगो पूर्ण रूपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।
आगलागीबाट दुवै पसलमा रहेका सम्पूर्ण सामान जलेर नष्ट भएका छ्न् भने मानवीय र पशु चौपायाको कुनै क्षति नभएको जिप्रका मुगुले बताएको छ।
आगलागीको कारण हालसम्म खुल्न सकेको छैन। घटनाबाट भएको आर्थिक क्षतिको यकिन विवरणसमेत आउन बाँकी रहेको प्रहरीले जनाएको छ। आगलागी भएको जामबजार प्रहरी चौकी श्रीकोटबाट करिब ४५ मिनेट पैदल दूरीमा पूर्वतर्फ पर्छ। घटनाबारे थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।