कार्ययोजना बनाउनै महँगो, समस्यामा साना सामुदायिक वन

बिहिबार, १२ कार्तिक, २०८३
डिजिटल संस्करण

बर्दिया । बर्दियाको गुलरियामा सामुदायिक वनको संक्षिप्त कार्ययोजनासम्बन्धी  छलफल गरिएको छ । सामुदायिक वन उपभोक्ता महासंघ नेपालको आयोजनामा सामुदायिक वनको संक्षिप्त कार्ययोजनासम्बन्धी  छलफल गरिएको हो।


सामुदायिक वनहरूले कार्ययोजना बनाउँदा वनभित्र घाँसपात गर्न जान, सामुदायिक वनको झाडी सरसफाइ गर्न जानसमेत डिभिजन वन कार्यालय रोक लगाउने गरेको सामुदायिक वनका पदाधिकारीको आरोप छ ।

हिजो समुदाय वनका उपभोक्ताले जोगाएको वनमा घाँस–दाउरा गर्न जानसमेत कार्ययोजना बनाउनुपर्ने भएपछि उपभोक्ताहरू मारमा परेका छन् । सामुदायिक वनको कार्ययोजना बनाउँदा लाखौँ रुपैयाँ तिरेर प्राइभेट कम्पनीबाट कार्ययोजना बनाउनुपर्ने  बाध्यता छ ।

सामुदायिक वनका उपभोक्ताले भोग्दै आएको समस्या समाधान गर्न बुधबार गुलरियामा छलफल गरिएको हो ।  

गुलरिया नगरपालिका– ५ मा रहेको भृकुटी सामुदायिक वन लगाउन समुदायको महत्त्वपूर्ण योगदान भए तापनि कार्ययोजना नहुँदा धेरै समस्या भोग्नुपरेको सामुदायिक वनको अध्यक्ष शान्ता ज्ञवालीले बताइन् । उनले भनिन्,  ‘सामुदायिक वनको कार्ययोजना धेरै खर्च लाग्छ । कार्ययोजना बनाउन पुग्ने आयस्रोत पनि सामुदायिक वनको छैन।’

गुलरिया नगरपालिका– ४ मा रहेको बिन्दवासिनी सामुदायिक वनको कार्ययोजना बनाउन  सकेको कारण वनभित्र  ढलेका काठ निकाल्न नमिलेर साह्रै समस्या भएको  अध्यक्ष भवानी खत्रीले बताइन् । उनले भनिन्, ‘वन हेर्ने हेरालुलाई  प्रत्येक महिला एक घरले ४० रुपैयाँका दरले उठाएर दिँदै आएको छौँ  । यस्तोमा वनको कार्ययोजना बनाउने बजेट कहाँबाट ल्याउने । कार्ययोजना बनाउँदा लाखौँ खर्च हुने भएकाले साना वन समस्यामा भोग्नुपरेको छ।’

सामुदायिक वनका समस्या बुझ्न​सामुदायिक वनको संक्षिप्त कार्ययोजनासम्बन्धी छलफल कार्यक्रम आयोजना गरिएको सामुदायिक वन उपभोक्ता महासंघ नेपालका केन्द्रीय अध्यक्ष ठाकुरप्रसाद भण्डारीले आर्थिक रूपमा कमजोर र सामुदायिक वनबाट आम्दानी नहुने सामुदायिक वनको समस्याबारे आफू जानकार रहेको बताए । उनले भने, सामुदायिक वनले भोग्दै आएको समस्याबारे जानकार भएर नै सामुदायिक वनको संक्षिप्त कार्ययोजनासम्बन्धी छलफल चलाइरहेका छौँ । सामुदायिक वन उपभोक्ता महासंघ नेपालले पनि यसका लागि पहल गरिरहेको छ।’


डिभिजन वन कार्यालय बर्दियाका प्रमुख टोकलराज चापागाईंले नीतिनियमभित्र रहेर सामुदायिक वनलाई आवश्यक पर्ने सहयोग गर्न कार्यालय तयारी रहेको बताए । उनले भने, ‘साना र आयस्रोत भएका वनले अनेक समस्या भोग्दै आएको थाहा छ । तर, कार्यालयको पनि आफ्नो सीमा छ,  त्यहीँभित्र बसेर काम गर्नुपर्ने हुन्छ । कार्यालयको तर्फबाट हुने सबैलाई सहयोग गर्न म तयार छु ।’


सामुदायिक वन उपभोक्ता महासंघ नेपालका केन्द्रीय उपाध्यक्ष मोहम्मदकर खाँले सामुदायिक वनको संरक्षण गर्ने काम समुदायले गर्यो, अब वनबाट आर्थिक आर्यआर्जन गर्ने गरी सामुदायिक वन काम गर्न जरुरी रहेको बताए । उनले भने, ‘अब संरक्षण सँगसँगै आयस्रोत बढाउन गरी वनको उपभोग गर्ने नीति अवलम्बन गर्न जरुरी छ । वनसँग जोडेर उद्योग व्यवसाय सञ्चालन गरी गाउँमा स्वरोजगार र रोजगार हुने वातावरण सिर्जना गर्नुपर्छ।’

सुझावित समाचार