पोखरा । पोखराको लेकसाइडस्थित हल्लनचोकमा रहेको क्याम्पिङ चौरमा वर्षौँदेखि थुप्रिएको निर्माणजन्य फोहोर तथा अवशेष हटाएर चौरलाई सम्याउने काम भइरहेको छ।
पोखरा एभेन्जर्सले उक्त चौरलाई प्राकृतिक, खुला र हरियालीयुक्त मैदानका रूपमा विकास गर्न पोखरा महानगरपालिकालगायत सम्बन्धित निकायलाई सुझाव दिने उद्देश्यले सरसफाइ तथा जमिन सम्याउने काम अघि बढाएको हो।
यस क्रममा बुझाइमा रहेको अस्पष्टता तथा विकाससम्बन्धी फरक दृष्टिकोणका कारण विभिन्न पक्षबाट अवरोधसमेत सामना गर्नुपरेको पोखरा एभेन्जर्सले जनाएको छ। यद्यपि, हाल चौरलाई दुबो रोप्न मिल्ने अवस्थासम्म सम्याएर तयार गरिएको छ।
गण्डकी प्रदेश सरकारको उद्योग, पर्यटन तथा यातायात मन्त्रालयअन्तर्गतको पर्यटन महाशाखाको स्वामित्वमा रहेको उक्त चौरमा दुबो रोपेर हरियालीयुक्त प्राकृतिक खुला मैदानका रूपमा विकास गर्न पोखरा महानगरपालिकालाई नेतृत्वदायी भूमिका निर्वाह गर्न आग्रह गरिनेछ। यसका लागि आवश्यक पहल र सहकार्य गर्नसमेत सम्बन्धित निकायलाई अनुरोध गरिने जनाइएको छ।
यसैबिच, आगामी नेपाल प्रिमियर लिग (एनपिएल) का खेल दर्शकले सामूहिक रूपमा हेर्न सक्ने व्यवस्था मिलाउन पोखरा एभेन्जर्सले उक्त चौरमा एक महिनासम्म सञ्चालन हुने फ्यान पार्क निर्माण गर्ने भएको छ। फ्यान पार्कमार्फत क्रिकेटप्रेमीलाई एकै ठाउँमा भेला भएर खेल हेर्ने अवसर प्रदान गर्नुका साथै पोखराको पर्यटन, स्थानीय व्यवसाय र समग्र आर्थिक गतिविधिलाई प्रवर्द्धन गर्ने लक्ष्य राखिएको छ।
पोखरा एभेन्जर्सका प्रकाश लामिछानेले पोखराको पर्यटन विकासमा खेलकुदलाई प्रभावकारी माध्यमका रूपमा उपयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
हामीले आफ्नै ठाउँमा रहेका अवसर र चुनौती दुवैको पूर्ण अपनत्व लिँदै खेलकुदको माध्यमबाट पर्यटन विकास गर्न पूर्ण रूपमा प्रतिबद्ध छौँ। सार्वजनिक स्थानको संरक्षण, सौन्दर्यीकरण र सदुपयोगमार्फत पोखराको पर्यटनलाई थप उचाइमा पुर्याउनु हाम्रो उद्देश्य हो, लामिछानेले भने।
क्याम्पिङ चौरको सरसफाइ, सौन्दर्यीकरण र व्यवस्थित उपयोगले पोखरामा खुला सार्वजनिक स्थलको संरक्षणसँगै पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्याउने अपेक्षा गरिएको छ।