काठमाडौं। बाढी र पहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका विभिन्न सडकखण्डमा यातायात सेवा प्रभावित भएको छ। नेपाल प्रहरीका अनुसार म्याग्दीको रघुगंगा गाउँपालिका- २, बैसरीमा पहिरो खसेपछि बेनी-जोमसोम सडक एकतर्फी रूपमा मात्र सञ्चालनमा छ।
गोरखामा पनि सडक यातायातमा ठुलो असर परेको छ। आरुघाट गाउँपालिका- २, ३ र ४ तथा नयाँपुल क्षेत्रमा बाढीले सडक अवरुद्ध बनाएको छ। सोतीगाउँमा फलामे पुल बगाउँदा आरुघाटबाट धार्चे जोड्ने सडक पूर्ण रूपमा बन्द भएको प्रहरीले जनाएको छ। आरुघाट-१ को नयाँपुल क्षेत्रमा बाढीका कारण साना सवारीसाधन मात्र सञ्चालनमा रहेका छन्।
यसैगरी, कर्णाली प्रदेशमा पनि यातायात प्रभावित भएको छ। सुर्खेतको बराहताल गाउँपालिका- ५, ओइलिसेमा पहिरो खस्दा कर्णाली राजमार्ग एकतर्फी सञ्चालनमा छ। प्रहरीले अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको जनाएको छ। सम्बन्धित सडक खण्डमा यात्रा गर्ने सर्वसाधारणलाई आवश्यक सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ।