खाेटाङ । खोटाङमा निमोनिया र डेंगुको संक्रमणका कारण १५ महिने शिशुको मृत्यु भएको छ। दिप्रुङ चुइचुम्मा गाउँपालिका– ७, टेम्माकी रियाना दाहालको जिल्ला अस्पताल दिक्तेलमा उपचारका क्रममा मृत्यु भएको हो।
अधिक ज्वरो आएपछि कात्तिक ४ गते बिहान अस्पताल लगिएकी शिशुमा डेंगु पुष्टि भएको थियो। पछि श्वासप्रश्वासमा समेत समस्या देखिएपछि स्वास्थ्य अवस्था जटिल बनेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. पुष्कल राईले बताए।
अवस्था गम्भीर भएपछि अस्पतालले बिहान ३ बजे रेफर गरेको थियो। तर, दसैँका कारण समयमा गाडी नपाउँदा अन्यत्र लैजाने तयारीकै क्रममा शिशुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी प्रकाश बुढाथोकीले जानकारी दिए।