झापा। झापाको बिर्तामोड नगरपालिका– २, रामचोकस्थित एक बडी ग्यारेजको क्यान्टिनमा आगलागी हुँदा एकजनाको जलेर मृत्यु भएको छ।
बिहीबार बिहान करिब ४:१० बजे विद्युत् सर्ट भएर आगलागी हुँदा क्यान्टिनमा काम गर्ने गौरीगन्ज गाउँपालिका– २ निवासी ६५ वर्षीय रुद्रबहादुर तामाङको मृत्यु भएको हो।
ध्रुव भट्टराईको जग्गामा रहेको टिनको छानो भएको घरमा बिर्तामोड नगरपालिका– ४ निवासी रवि राजवंशीले सञ्चालन गरेको ठुला सवारीसाधन मर्मत केन्द्र (बडी ग्यारेज) को क्यान्टिनमा आगलागी भएको प्रहरीले जनाएको छ।
आगलागीको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो। दमकल तथा स्थानीयवासीको सहयोगमा बिहान करिब ४:३० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो।
आगलागीबाट क्यान्टिनभित्र रहेका भाँडाकुँडा, लत्ताकपडा, तीनवटा खसीबाख्रा तथा नगद एक लाख रुपैयाँ जलेर नष्ट भएका छन्। प्रारम्भिक विवरणअनुसार क्यान्टिनमा करिब तीन लाख रुपैयाँबराबरको क्षति भएको छ।
यसैगरी, ग्यारेजसँगै जोडिएको राजेन्द्र अग्रवालले सञ्चालन गरेको मार्बल तथा टाइल्सको गोदाममा समेत सामान्य आगलागी भएको जनाइएको छ।
आगलागीबाट भएको अन्य क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धानसमेत भइरहेको छ।