सिराहा । लहान नगरपालिका– २३, तिलेबोना गाउँनजिकै पर्ने बलान खोलामा पौडी खेल्ने क्रममा बिहीबार दिउँसो डुबेर बेपत्ता भएका बालक मृत फेला परेका छन्।
खोलामा डुबेर बेपत्ता भएका स्थानीय रामउदगार महतोका छोरा करिब आठ वर्षीय अभिनन्दन महतो शुक्रबार बिहान करिब साढे १० बजेतिर मृत भेटिएका हुन्। महोत्तरीको बर्दीबासस्थित सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालयबाट आएको गोताखोर टोली परिचालन गरी खोजी गर्ने क्रममा गहिरो खाल्डोमा महतो मृत भेटिएको प्रहरीले जनाएको छ।
डुबेर बेपत्ता भएको करिब २० घण्टापछि शव भेटिएसँगै घटनास्थल मुचुल्कासहित आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि लहानस्थित रामकुमार शारदा उमाप्रसाद मुरारका प्रादेशिक अस्पताल पठाइएको सिराहा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले जानकारी दिए। सिराहा र सप्तरीको सीमाको रूपमा रहेको बलान नदीको पानी सिराहाको तिलेबोना गाउँनजिक सिधै पश्चिमतिरको भित्तामा हान्निदा पानी घुमेर करिब १८ फिटसम्म गहिरो भएको खाल्डो बनेको छ।
प्रहरीका अनुसार बिहीबार दिउँसो करिब ३ बजेतिर गाउँनजिकै पर्ने खोलामा तीन बालकहरू पौडी खेल्ने क्रममा स्थानीय जोगेन्द्र महतोका छोरा करिब १२ वर्षीय राजु महतो अपराह्न ४ बजेतिर मृत भेटएका थिए भने अभिनन्दन बेपत्ता भएका थिए।