एसियाली खेलकुदका पदक विजेतालाई सरकारले ३५ लाख दिने

शनिबार, २४ असोज, २०८३
प्रिन्ट संस्करण
  • तेस्रोपटक जापानमा आयोजना भएको २०औँ एसियाली प्रतियोगितामा कराँतेका तेन्जिङ शेर्पा र महिला कबड्डी टिमले कांस्य पदक जितेका थिए 

नेपाल सरकारले जापानको आइची–नागोयामा सम्पन्न २०औँ एसियाली खेलकुद (एसियाड)मा पदक प्राप्त गर्ने दुई खेलका खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई नगदसहित पुरस्कृत गर्ने निर्णय गरेको छ ।

सरकारले पदक विजेता कराँते र कबड्डीका खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकलाई कुल ३५ लाख १० हजारसहित सम्मान गर्न लागेको हो । शुक्रबार नेपाल सरकारको मन्त्रिपरिषद्को बैठकले पदक प्राप्त गरेका महिला कराँते र महिला कबड्डी टिमका खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकलाई नगद पुस्कार प्रदान गर्ने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले जानकारी गराएका छन् ।

तेस्रोपटक जापानमा आयोजना भएको प्रतियोगितामा कराँतेका तेन्जिङ शेर्पाले पहिलोपटक कांस्य पदक जितेका थिए । तेन्जिङले ८४ केजीमाथिको प्रतिस्पर्धामा कांस्य पदक जितेका हुन् । यता, महिला कबड्डी टिमले सेमिफाइनलमा पराजित भए पनि लगातार कांस्य पदक जित्न सफल भएको थियो । १९औँ एसियाली खेलकुदमा पनि कबड्डीले ऐतिहासिक पदक जितेको थियो । सरकारले अन्तर्राष्ट्रिय खेलमा पदक प्राप्त गर्ने खेलका खेलाडीसँगै प्रशिक्षक र व्यवस्थापकलाई पुरस्कार दिन नियमावली नै बनाएर पुरस्कृत गर्दै आएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव रामचरित्र मेहता छोटो समयमै खेलाडीलाई पुरस्कार दिने निर्णय भएकोमा खुसी व्यक्त गर्छन् । ‘हामीले पदक जित्नेबित्तिकै खेलाडीले पुरस्कार पाउनुपर्छ भनेर पहल गरिहाल्यौँ । सरकारबाट पनि चाँडै स्वीकृत भयो । अब खेलाडीलाई चाँडै उपलब्ध गराउँछौँ,’ सदस्यसचिव मेहता भन्छन्, ‘घोषित पुरस्कार यथासक्य चाँडो दिलाउनु हाम्रो कर्तव्य हो । चाँडोभन्दा चाँडो यो कार्य पूरा गर्छौँ ।’ राखेपका अनुसार दुवै टिमले छनोट चरण पार नगरी सिधै प्रतियोगिता खेलेका कारण आधा रकम मात्रै पाउनेछन् ।

तेन्जिङ र महिला कबड्डीलाई सफलता
नेपालले यसपटक एक स्वर्णसहित दोहोरो पदकको लक्ष्य राखेको थियो । तर, प्रतियोगितामा नेपाल केवल दुई कांस्य पदकमै सीमित भयो । कराँते, बक्सिङ, जुडो, उसु, तेक्वान्दोजस्ता आशा गरिएका खेल र खेलाडीबाट पदक आउन सकेन । कराँतेमा आशा नै नगरिएका २३ वर्षीय तेन्जिङ शेर्पाले ८४ केजीमाथि पदक जिताएका हुन् । यसअघि एरिका गुरुङ, राजेश मानन्धर, मानबहादुर तामाङजस्ता खेलाडी सेमिफाइनलमा पुगेर पनि पराजित भएका थिए । यता, महिला कबड्डी टिम लगातार सफलता हासिल गर्न सफल भयो ।

मानमती विष्टको कप्तानीमा रहेको नेपाल सेमिफाइनलमा भारतसँग पराजित भए पनि पदक जित्न सफल भएको थियो । यसअघि नेपाल समूह चरणमा एक खेलमा चाइनिज ताइपेसँग पराजित भयो । तर, थाइल्यान्ड र श्रीलंकालाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो । कबड्डीमा सेमिफाइनल प्रवेश गर्ने टिमले कांस्य पदक पाउने नियम रहेको छ । यसअघि सरकारले दोहोरो अंकको पदक लक्ष्य राखे पनि त्यसमा भने सफल भएन । सरकारले सुरु गरेको ‘मिसन २६’ नै असफल भएको थियो । 

खेलाडीलाई चाँडै उपलब्ध गराउँछौँ : रामचरित्र मेहता, सदस्यसचिव, राखेप
nullहामीले पदक जित्नेबित्तिकै खेलाडीले पुरस्कार पाउनुपर्छ भनेर पहल गरिहाल्यौँ । सरकारबाट पनि चाँडै स्वीकृत भयो । अब खेलाडीलाई चाँडै उपलब्ध गराउँछौँ । घोषित पुरस्कार यथासक्य चाँडो दिलाउनु हाम्रो कर्तव्य हो । सरकारबाट स्वीकृत भएको छ, चाँडोभन्दा चाँडो यो कार्य पूरा गर्छौँ ।

सुझावित समाचार