विपतपछिकाे पुनर्निर्माण र बालबालिकाको पुनर्स्थापना

मंगलबार, २० असोज, २०८३
प्रिन्ट संस्करण
  • विपतबाट प्रभावित क्षेत्रका बालबालिकाका लागि सुरक्षित घर र विद्यालयसँगै उनीहरूको ‘सुरक्षित मन’ पनि उत्तिकै महत्वपूर्ण हुन्छ

विश्वमा हाम्रो देश नेपालजस्तो भौगोलिक विविधता (हिमाल, पहाड, तराई), तदनुसारको जलवायु र जैविक विविधता भएका स्थानमा हुने प्राकृतिक विपत् विशेषगरी बाढी, पहिरो, भूकम्प, हुरीबतास, चट्याङ आउँदा हाम्रो ध्यान तत्कालै भौतिक विनाश अनि त्यसबाट सिर्जित क्षतितिर जान्छ । भत्किएका घर, बगेका सडक, ढालिएका पुल र ध्वस्त भएका विद्यालयका भवनलगायत भौतिक संरचनाका भग्नावशेष आँखाले सजिलै देख्न सकिने भौतिक क्षति हुन् । तर, विपत्को धमिलो पानीले बगाउन नसक्ने र आँखाले सजिलै ठम्याउन नसक्ने अर्को एउटा गहिरो क्षति पनि हुन्छ, त्यो हो बालबालिकाको कोमल मनोभावनामा पर्ने मनोवैज्ञानिक असर, जसले मन, मस्तिष्क र व्यवहारमा गहिरो र दीर्घकालीन असर पारिरहेको हुन्छ । रसुवाको भोटेकोशी क्षेत्रमा हालै आएको विनाशकारी बाढीले केवल भौतिक पूर्वाधारमा मात्र क्षति पुर्याएको छैन, यसबाहेक हजारौँ बालबालिकाको (विशेषगरी विद्यालय जाने उमेर समूहको) सुरक्षित भविष्य, सिकाइ र सामान्य जीवनयापनको पद्धतिलाई समेत अस्तव्यस्त बनाइदिएको छ । यस्तो संकटको घडीमा राहत सामग्री वितरण र भौतिक निर्माण जति महत्वपूर्ण छन्, त्यसभन्दा पनि बढी भविष्यका कर्णधार बालबालिका, जसले बाढीका कारण आफ्ना बुबाआमा दुवै गुमाएर बेसहारा भए, परिवारका सदस्य दाइभाइ, दिदीबहिनी, छिमेकी, साथीसँगी सधैँका लागि विछोड भए, आफू खेल्ने खेल मैदानको नामनिसान छैन, विद्यालयको भवन नै छैन, किताबकापी कता हो, टुंगो छैन । यस्तो अवस्थामा बालबालिकाको मानसिक स्वास्थ्य जोगाउनु र उनीहरूको शिक्षालाई निरन्तरता दिनु अपरिहार्य छ ।

१० भदौ, ०८३ मा रसुवामा आएको भीषण बाढीले रसुवा, नुवाकोट गोर्खा, चितवन र धादिङलगायत छिमेकी जिल्लामा समेत ठुलो विनाश निम्त्यायो । संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ)को तथ्यांकअनुसार यस प्राकृतिक विपत्का कारण कम्तीमा १७ हजार बालबालिका प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । बाढीका कारण १८ वटा विद्यालय पूर्ण रूपमा ध्वस्त भएका छन् भने अन्य २० भन्दा बढी विद्यालयमा गम्भीर क्षति पुगेको छ । यस त्रासदीले गर्दा करिब १३ हजार विद्यालय जाने उमेरका बालबालिकाको पढाइ एकाएक ठप्प हुन पुग्यो, जसका लागि तत्कालै शैक्षिक निरन्तरता र आपत्कालीन सहायताको खाँचो छ । यस्तो विषम परिस्थितिमा प्रभावित परिवार र बालबालिकालाई सम्हाल्न मनोसामाजिक परामर्श प्रदान गर्न विज्ञ तथा सहायता टोलीसमेत परिचालन गरिनुपर्छ ।

भौतिक क्षतिभन्दा अदृश्य बालमनोविज्ञानको पीडा गहिरो : विपत्पछिको समयमा वयस्कहरू परिस्थितिलाई केही हदसम्म बुझेर सम्हालिन सके पनि बालबालिकाका लागि भने आफ्नो वरिपरि भइरहेका अप्रत्याशित घटना बुझ्न कठिन हुन्छ । यसले गर्दा उनीहरूमा डर, त्रास र असुरक्षाको भावना गहिरो गरी गाडिन्छ । आँखाअगाडि आफ्नै घर बग्नु, वर्षौंदेखि पढ्दै आएको विद्यालयको नामोनिसान नरहनु, परिवार विस्थापित हुनु, आफ्ना प्रिय साथीभाइबाट टाढिनु र भोलिको दिन के होला भन्ने अनिश्चितताले उनीहरूको मानसिक र भावनात्मक विकासमा गम्भीर चुनौती थपिदिन्छ ।

रसुवा भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रकी एक शिक्षिकाले आफ्नो भोगाइ व्यक्त गर्दै भनिन्– उनीहरूकै गाउँ, घर र विद्यालय एकाएक नदीको बगरमा परिणत हुँदा साना बालबालिकामा परेको मानसिक आघात शब्दमा वर्णन गर्न सकिन्न । युनिसेफको विवरणअनुसार कम्तीमा २० वटा विद्यालयमा क्षति पुग्दा करिब सात हजार बालबालिका सोझै प्रभावित भएका छन् । अहिले पनि नदीकिनारका अन्य थुप्रै विद्यालयको क्षतिको विवरण संकलन भइरहेको छ भने जोगिएका केही विद्यालयका भवन विस्थापित परिवारका लागि अस्थायी आश्रयस्थलका रूपमा प्रयोग भइरहेका छन् ।

विपत्पश्चात् बालबालिकामा विभिन्न प्रकारका असामान्य व्यवहार देखिन सक्छन् । जस्तै– अत्यधिक डराउनु, निरन्तर चिन्तित वा उदासीन रहनु, निद्रा नपर्नु वा तर्सिनु, पढाइ र खेलकुदमा ध्यान एकाग्र गर्न नसक्नु, अभिभावकलाई एकछिन पनि छाड्न नमान्नु र विद्यालय फर्कन हिचकिचाउनु । यस प्रकृतिका लक्षणसहितका प्रतिक्रियालाई बालबालिकाको कमजोरी वा ‘समस्या’का रूपमा हेर्नुको सट्टा विपत्पछिको परिस्थितिले पैदा गरेको स्वाभाविक मनोसामाजिक असरका रूपमा बुझ्नुपर्छ ।

स्कुल केबल पठनपाठनको थलो मात्र होइन : हामी प्रायजसो विद्यालयलाई ढोका, झ्याल, बेन्च र किताबले भरिएको एउटा संरचना मात्र ठान्छौँ । तर, विपत्को समयमा विद्यालयको महत्व त्योभन्दा धेरै माथि हुन्छ । विद्यालय बालबालिकाका लागि सुरक्षाको छहारी, साथीभाइसँग खुसी साट्ने थलो, नियमित दिनचर्या कायम राख्ने माध्यम र सामाजिक सम्बन्ध गाँस्ने मुख्य केन्द्र हो । त्यसैले, संकटपछि विद्यालयलाई पुनर्जीवित गर्नुको अर्थ उनीहरूलाई पुनः सामान्य जीवनमा फर्काउनु हो ।

युनिसेफका अनुसार आपत्कालीन अवस्थामा शैक्षिक संस्थाको निरन्तरताले बालबालिकालाई ज्ञान मात्र दिँदैन, बरु उनीहरूलाई मानसिक सुरक्षा, अनुशासन, मनोसामाजिक ढाडस, भरोसा र जीवन सामान्य अवस्थामा फर्किंदै छ भन्ने आत्मविश्वास प्रदान गर्छ । विद्यालय लामो समयसम्म बन्द रह्यो भने विद्यार्थीको सिकाइमा मात्र क्षति पुग्दैन, उनीहरूको भावनात्मक स्वास्थ्य र सामाजिक दायरा पनि खुम्चिँदै जान्छ । यसकारण, भोटेकोशी बाढी प्रभावित क्षेत्रमा ‘सुरक्षित सिकाइको वातावरण’ बनाउनु पहिलो प्राथमिकता हुनुपर्छ । त्यसका लागि अस्थायी सिकाइ केन्द्र स्थापना गर्ने, सुरक्षित खेल मैदानको व्यवस्था गर्ने, समूहगत गतिविधि सञ्चालन गर्ने र विद्यार्थीमैत्री वातावरण तयार पार्ने हो भने बालबालिका छिट्टै आफ्नो पुरानै लयमा फर्किन सक्छन् ।

मनोपरामर्शलाई राहत कार्यक्रमको मूल प्रवाहमा समावेश गरिनुपर्छ : नेपालमा विपत् व्यवस्थापन र राहत भन्नेबित्तिकै चिउरा, चाउचाउ, त्रिपाल, कपडा, औषधि र भौतिक पुनर्निर्माणलाई मात्र बुझ्ने जुन परम्परागत धारणा छ, यस्ता वस्तु अत्यावश्यक भए पनि बालबालिकाको मनोसामाजिक आवश्यकतालाई पनि उत्तिकै प्राथमिकतासाथ राहत तथा पुनर्स्थापनाको अभिन्न अंग बनाउनु अनिवार्य छ ।

मनोसामाजिक सहयोग भन्दैमा कुनै जटिल वा महँगो उपचार पद्धति नै अपनाउनुपर्छ भन्ने छैन । बालबालिकालाई सुरक्षित र शान्त वातावरणमा आफ्ना मनका कुरा व्यक्त गर्न दिनु, उनीहरूका कुरा धैर्यपूर्वक सुनिदिनु, उनीहरूलाई चित्रकला, खेलकुद वा सिर्जनात्मक काममा व्यस्त राख्नु, जसले मस्तिष्क अन्य कुरामा केन्द्रित हुने हुँदा पुरानो समस्याबाट बिस्तारै छुटकारा पाउँदै जाने हुन्छ । यसका लागि शिक्षक तथा अभिभावकलाई मनोसामाजिक सहयोगबारे आधारभूत तालिम दिनु नै यसको पहिलो र महत्वपूर्ण काम हो ।

नेपालमा आइपरेका विगतका विपत्मा पनि मनोपरामर्श सेवाको प्रयोग र यसले पुर्याएको सकारात्मक योगदानले यसको महत्वलाई पुष्टि गरिसकेको छ । सन् २०२१ मा सिन्धुपाल्चोकको मेलम्चीमा बाढी र पहिरो आउँदा बालबालिका र युवाको मानसिक अवस्था सम्हाल्न विशेष सत्र चलाइएका थिए । त्यसैगरी, सन् २०२३ को जाजरकोट भूकम्पपछि युनिसेफ र अन्य संस्थाले सञ्चालन गरेको समूहगत परामर्श र मनोसामाजिक सहयोगले बालबालिकाको डर घटाउन र उनीहरूलाई पुनः अध्ययनमा फर्काउन ठुलो भूमिका खेलेको थियो । त्यस्तै, सन् २०१५ को भूकम्प तथा त्यसपछिका परकम्पमा समेत यो पद्धतिको राम्रो प्रयोग भएको थियो । यसबाट हामीले सिक्नुपर्ने मुख्य पाठ के हो भने विपत्पछि मनोसामाजिक सहयोग पुर्याउन ढिलाइ गर्नुहुँदैन । प्राथमिक मनोसामाजिक उपचारदेखि लिएर आवश्यक परेमा विशेषज्ञकहाँ पठाउनेसम्मको संयन्त्र चुस्त बनाउनुपर्छ ।

अभिभावक र शिक्षकको दोहोरो भूमिका : विपत्का वेला बालबालिकाको सबैभन्दा नजिकका संरक्षक भनेका उनीहरूका अभिभावक, घरपरिवारका सदस्य र उनीहरूलाई पढाउने शिक्षक नै हुन् । त्यसैले, उनीहरूमा बालबालिकाको मानसिक अवस्था बुझ्ने आधारभूत सिप हुनु जरुरी छ । विद्यार्थीको व्यवहारमा अचानक आएको परिवर्तन, टोलाउने बानी, अत्यधिक उदासीनता वा असामाजिक व्यवहारलाई शिक्षकले सूक्ष्म रूपमा नियाल्नुपर्छ । तर, यहाँ ध्यान दिनुपर्ने अर्को संवेदनशील पक्ष पनि छ । शिक्षकहरू स्वयं पनि सोही विपत्का पीडित हुन सक्छन् । रसुवा, नुवाकोट भोटेकोशी क्षेत्रका कतिपय शिक्षकले आफ्नै घर र विद्यालय गुमाएका छन् यस्तो मानसिक तनावमा रहेका शिक्षकबाट मात्र बालबालिकालाई पूर्ण सहयोगको अपेक्षा गर्नु व्यावहारिक हुँदैन । त्यसैले, शिक्षकका लागि पनि छुट्टै मनोपरामर्शको व्यवस्था गरिनुपर्छ ।

अभिभावकले पनि बालबालिकाको डरलाई ‘केही भएको छैन’ वा ‘डराउनु पर्दैन’ भनेर पन्छाउनुहुँदैन । उनीहरूको डर र भावनालाई स्वीकार गर्दै सुनिदिने र सुरक्षित वातावरण दिने अभ्यास गर्नुपर्छ र बालबालिकालाई गफगाफ, चित्रकला वा खेलको माध्यमबाट आफ्ना अनुभव बाहिर ल्याउन प्रोत्साहित गर्नुपर्छ ।

दीर्घकालीन पुनर्स्थापना र नयाँ दृष्टिकोण : भोटेकोशी बाढीका सन्दर्भमा मनोसामाजिक सहयोगलाई केही दिन वा साताको अल्पकालीन राहत कार्यक्रमका रूपमा मात्र सीमित राखिनु हुँदैन । प्राकृतिक विपत्को प्रत्यक्ष घटना सकिए पनि त्यसको मानसिक छाप वर्षौंसम्म रहिरहन सक्छ । त्यसैले, स्थानीय सरकार, विद्यालय, स्वास्थ्य संस्था र समुदायको समन्वयमा दीर्घकालीन योजना बनाइनुपर्छ । विद्यालयमा नियमित परामर्श सेवा, शिक्षक अभिमुखीकरण, बाल क्लबको सक्रियता र विपत् जोखिम न्यूनीकरणसम्बन्धी अभ्यासलाई नियमित पाठ्यक्रममै जोड्नुपर्छ । नेपालका कतिपय बाढी प्रभावित क्षेत्रमा सञ्चालन गरिएका पूर्वसूचना प्रणाली, उद्धार अभ्यास र विद्यालयस्तरीय सुरक्षा क्लबले विद्यार्थीको आत्मविश्वास बढाएका सफल उदाहरण हामीसामु छन् ।

भोटेकोशीको बाढीले आज हामीसामु एउटा महत्वपूर्ण प्रश्न खडा गरिदिएको छ । हामी केवल सिमेन्ट र इँटाको विद्यालय मात्र निर्माण गर्दै छौँ कि बालबालिकाको सुनौलो भविष्य पनि पुनर्निर्माण गर्दै छौँ ? नयाँ भौतिक संरचना बनाउनु पक्कै पनि आवश्यक छ, तर त्यो भवनभित्र छिर्ने बालबालिकाको मनभित्रको डर र त्रास हटाउनु झनै आवश्यक छ भनेर नीति अनि कार्यान्वयनमा लैजान जिम्मेवार निकाय अघि बढ्नुको विकल्प छैन । विपत् व्यवस्थापनलाई केवल खोज, उद्धार र राहत सामग्री बाँड्ने पुरानो सोचबाट माथि उठाउनैपर्छ । बालबालिकाका लागि सुरक्षित घर र विद्यालयसँगै उनीहरूको ‘सुरक्षित मन’ पनि उत्तिकै महत्वपूर्ण हुन्छ । भोटेकोशीका बालबालिकाले गुमाएका घर र विद्यालयका भवन बन्न केही समय लाग्ला, तर उनीहरूको आशा, आत्मविश्वास र सिकाइको यात्रा कुनै पनि बहानामा रोकिनु हुँदैन । हरेक पुनर्निर्माणको जगमा बालमनको पुनर्स्थापना जोडिनु नै समृद्ध भविष्यको सुनिश्चितता हो ।

(खनाल विकास/शिक्षा अनुसन्धानकर्ता हुन्) 

सुझावित समाचार