वर्षा र बाढीकाे प्रभाव : सिराहाका विभिन्न तटीय क्षेत्रमा सशस्त्र प्रहरी परिचालन

आइतबार, ११ असोज, २०८३
डिजिटल संस्करण

बंगालको खाडीमा बनेको न्यूनचापीय प्रणाली र पश्चिमी वायुको प्रभावको कारणले पछिल्लो तीन दिनदेखि परेको लगातारको वर्षासँगै यस जिल्ला हुँदै बग्ने खोला तथा नदीमा पानीको बहाब बढेपछि तटीय क्षेत्रमा सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

विभिन्न ठाउँमा भइरहेको भारी वर्षासँगै स्थानीय खोला तथा नदीमा पानीको बहाब बढ्न थालेपछि जिल्लाका ६ ठाउँका तटीय क्षेत्रमा विपत् व्यवस्थापनको सामग्रीसहित सशस्त्र प्रहरी परिचालन गरिएको सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण हेडक्वार्टर सिराहाका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक सुमनजंग थापाले जानकारी दिए ।

उनका अनुसार शुक्रबारदेखि नै कमला नदीको तटीय क्षेत्रमा पर्ने बन्दीपुर, कल्याणपुर नगरपालिकाको चिकना, सिराहा नगरपालिका– ६ बसबिट्टा, १७ माडर र बलान नदीको तटीय भू–भाग लहान नगरपालिका– १० खुट्टी र भगवानपुर गाउँपालिका– ४ भगवानपुरमा करिब ८० जना सशस्त्र प्रहरी परिचालन गरिएको हो ।

‘जोखिमको स्तरअनुसार गणबाट विपत् व्यवस्थापनका सामग्रीसहित सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा सुरक्षा टोली परिचालन गरिएको छ,’ उनले भने, ‘खोला तथा नदीमा लगातार पानीको सतह बढिरहेकाले मानवीय र भौतिक क्षति हुन नदिन सशस्त्र प्रहरी माइकिङसहित सर्वसाधारणलाई घरबाहिर ननिस्किन आग्रह गर्दै उच्च सतर्कतासहित तटीय क्षेत्रमा खटिरहेको छ ।’

लगतारको वर्षा र बाढीले मानवीय र भौतिक क्षति नभए पनि शुक्रबार हावाहुरीले नरहा, विष्णुपुर, गोलबजारलगायतका ठाउँका किसानले लगाएको उखु ढलेर क्षति पुगेको थियो ।

जिल्ला प्रशासन कार्यालय सिराहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले जिल्लाका विभिन्न खोलानालाहरूमा पानीको सतह बढेको भए पनि आइतबार बिहानसम्म कुनै क्षति नभएको जानकारी दिए ।

पानीको सतह बढेकाले रातिको समयमा अत्यावश्यक कामबाहेक लामो तथा छोटो दूरीको यात्रा नगर्न, कमला तथा बलानलगायतका नदीका तटीय क्षेत्रमा बसोबास गरिरहेकाहरूलाई विशेष सतर्कता अपनाउन स्थानीय प्रहरी र स्थानीय सरकारसँग समन्वय गरी सूचना प्रवाह गरिरहेको उनले बताए । 
 

See More On

सुझावित समाचार