वीरगन्जस्थित नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पतालले प्रथम वर्षका स्नातकोत्तर आवासीय चिकित्सकहरूलाई छात्रावास छाड्न दिएकाे १२ घण्टे अल्टिमेटम प्रतिकूल मौसमका कारण हाललाई स्थगित गरेको छ ।
कलेजले बिहीबार राति सूचना जारी गर्दै कलेजबाट उपलब्ध गराइएको छात्रावास, क्वार्टर वा अन्य आवासीय सुविधा १२ घण्टाभित्र खाली गर्न दिइएकाे निर्देशन हालका लागि स्थगित गरेको जनाएको हो ।
एक सूचना जारी गर्दै कलेज प्रशासनले जिल्ला प्रशासन कार्यालय पर्साबाट जारी भएको प्रतिकूल मौसम, भारी वर्षा र बाढीकाे जोखिमलाई मध्नजर गर्दै उक्त अल्टिमेटम अर्को सूचना नभएसम्म रोकिएको जनाएको छ ।
यसअघि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) त्रिभुवन विश्वविद्यालयलाई पत्र लेखिसकेको उल्लेख गर्दै कलेजले भनेको छ, ‘सम्पूर्ण प्रथम वर्षका स्नातकोत्तर आवासीय चिकित्सकहरूलाई यो सूचना जारी भएको समयदेखि १२ घण्टाभित्र कलेजबाट उपलब्ध गराइएको छात्रावास कोठा–क्वार्टर वा अन्य कुनै आवासीय सुविधा खाली गरी आफ्नो जिम्मामा रहेको कलेजको कुनै पनि सम्पत्ति सम्बन्धित छात्रावास–प्रशासन कार्यालयमा बुझाउन निर्देशन दिइएको छ ।’
साथै अर्को सूचना जारी नभएसम्म सम्पूर्ण प्रथम वर्षका स्नातकोत्तर आवासीय चिकित्सकहरूको शैक्षिक गतिविधि, क्लिनिकल पोस्टिङ, विभागीय प्रशिक्षण, ड्युटी र अन्य सबै प्रशिक्षण गतिविधिहरू स्थगित रहने कलेजले प्रस्ट पारेको थियो ।