मनसुनजन्य बाढी, पहिरो तथा डुबानबाट हुन सक्ने जनधनको क्षति न्यूनीकरण तथा खोज तथा उद्धारका लागि सशस्त्र प्रहरी बल नेपालले देशभर उच्च सतर्कतासहित व्यापक तयारी गरेको छ।
सशस्त्र प्रहरी बलका अनुसार देशभरका ६५० जोखिमयुक्त स्थानमा ११ हजार सात सयभन्दा बढी जनशक्ति परिचालनका लागि तयारी अवस्थामा राखिएको छ। सम्भावित जोखिमलाई ध्यानमा राख्दै आवश्यक जनशक्ति, उद्धार सामग्री तथा उपकरणको व्यवस्थापनसमेत गरिएको छ।
सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार विपत् व्यवस्थापनसम्बन्धी तालिमप्राप्त दुई हजार ६० जनासहित १३३ जना गोताखोर र २२४ जना रोप रेस्क्यु तथा उच्च भूभाग खोज तथा उद्धारसम्बन्धी तालिमप्राप्त सशस्त्र प्रहरी कर्मचारी प्रत्यक्ष परिचालनका लागि तयारी अवस्थामा छन्।
डुबान तथा बाढीमा परेकाको उद्धारका लागि १०३ वटा र्याफ्ट बोट र ५८ वटा मोटरबोट तयारी अवस्थामा राखिएको सशस्त्र प्रहरीले जनाएको छ। खोज तथा उद्धारलाई प्रविधिमैत्री बनाउन ३० वटा तालिमप्राप्त के–नाइन डग स्क्वाड र पाँचवटा विशेष ड्रोनसमेत परिचालनका लागि तयारी अवस्थामा राखिएको छ।
विपतका कारण सडक अवरुद्ध भए तत्काल खुलाउन तथा हेभी रेस्क्युका लागि जोखिमयुक्त नदी करिडोर र प्रदेशस्थित वाहिनी मुख्यालयमा ह्विल लोडर, क्रेन र एक्स्काभेटरलगायतका हेभी उपकरण तयारी अवस्थामा राखिएको छ।
सुनकोशी, सप्तकोशी, भोटेकोशी, त्रिशूली, नारायणी र बागमती नदी तथा विष्णुमती, बल्खु, मनोहरा, हनुमन्ते र नख्खुलगायत खोलालाई उच्च जोखिम क्षेत्रका रूपमा ध्यानमा राख्दै आवश्यक उद्धार सामग्रीसहित विपत् व्यवस्थापन जनशक्ति तयारी अवस्थामा राखिएको सशस्त्र प्रहरीले जनाएको छ।
यसैगरी, र्याफ्ट एसोसिएसनसँगको सहकार्यमा गण्डकी र लुम्बिनी प्रदेशमा थप १०–१० वटा र्याफ्ट बोट तयारी अवस्थामा राखिएको छ। जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान र आवश्यकताअनुसार थप जनशक्ति परिचालन गर्ने रणनीति पनि बनाइएको सशस्त्र प्रहरीले जनाएको छ।
भारी वर्षा तथा बाढीपहिरोको जोखिमलाई मध्यनजर गर्दै सशस्त्र प्रहरीले असोज ९ देखि ११ गतेसम्म जोखिमयुक्त नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन माइकिङसमेत गर्ने जनाएको छ।
सडकमार्गबाट यात्रा गर्दा पनि विशेष सावधानी अपनाउन आग्रह गर्दै सशस्त्र प्रहरीले अत्यावश्यक कामबाहेक जोखिमयुक्त सडकमा यात्रा नगर्न सर्वसाधारणलाई अनुरोध गरेको छ।
सशस्त्र प्रहरीका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले सम्भावित विपतकाे अवस्थाअनुसार जनशक्ति तथा उद्धार सामग्रीलाई आवश्यक स्थानमा तत्काल परिचालन गर्न सकिने गरी तयारी गरिएको जानकारी दिएका छन्।