सरकारले विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठलाई नियुक्त गरेको छ। मन्त्रिपरिषद्को असोज २ गतेको निर्णयअनुसार काठमाडौं महानगरपालिका– १४ निवासी श्रेष्ठलाई बढीमा चार वर्षका लागि अध्यक्ष नियुक्त गरिएको हो। नवनियुक्त अध्यक्ष श्रेष्ठले बुधबार सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनासमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् ।
शपथपछि सञ्चारमन्त्री तिमिल्सिनाले विज्ञापन क्षेत्रको नियमन, व्यवस्थापन र सुधारका लागि परिणाममुखी ढंगले काम गर्न अध्यक्ष श्रेष्ठलाई निर्देशन दिए। उनले विज्ञापन क्षेत्रलाई व्यवस्थित बनाउन बोर्डले आफ्नो अधिकार र जिम्मेवारीअनुसार प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताए ।
मन्त्री तिमिल्सिनाले विज्ञापन बोर्डको आवश्यकता, औचित्य र स्वीकार्यता थप स्थापित हुने गरी कार्ययोजना बनाएर अघि बढ्नुपर्नेमा जोड दिए। बोर्डको वर्तमान अवस्था, समस्या, अवसर र सम्भावनाको समीक्षा गरी सुधारका स्पष्ट योजनासहित काम गर्नुपर्ने उनकाे भनाइ थियो।
विद्यमान कानुन तथा नियमको प्रभावकारी कार्यान्वयन हुन नसक्नु चुनौती रहेको उल्लेख गर्दै उनले बोर्डले आफ्ना कमजोरी पहिचान गरी सुधार गर्नुपर्ने बताए। लोककल्याणकारी विज्ञापन वितरणलाई वैज्ञानिक, वस्तुनिष्ठ, पारदर्शी र विधिसम्मत बनाउनुपर्नेमा पनि उनले जोड दिए।
लोककल्याणकारी विज्ञापन वितरणमा पारदर्शिताको विषयमा महालेखापरीक्षकको कार्यालयले समेत प्रश्न उठाउँदै आएको सन्दर्भ उल्लेख गर्दै मन्त्री तिमिल्सिनाले सार्वजनिक स्रोतको पारदर्शी र प्रभावकारी उपयोग सुनिश्चित गर्नुपर्ने बताए।
नवनियुक्त अध्यक्ष श्रेष्ठले विज्ञापनसँग सम्बन्धित नीति, ऐन तथा कानुनको प्रभावकारी कार्यान्वयनलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाए। सुशासन र नागरिकलाई सहज सेवा प्रवाहलाई केन्द्रमा राख्दै विज्ञापन क्षेत्र सुधारका लागि नयाँ कार्ययोजना बनाएर अघि बढ्ने उनले बताए ।
श्रेष्ठ नेपाल विज्ञापन संघका पूर्वअध्यक्षसमेत हुन् । विज्ञापन तथा सञ्चार क्षेत्रमा लामो अनुभव हासिल गरेका उनले काठमाडौंस्थित किंग्स कलेज र डनबस्को कलेजलगायत शैक्षिक संस्थामा प्राध्यापनसमेत गरेका छन् ।