पार्टीलाई एकताबद्ध बनाएर स्थानीय तहको निर्वाचनमा जुटौँ : केन्द्रीय सदस्य ढकाल

बुधबार, ७ असोज, २०८३
डिजिटल संस्करण

नेकपा एमालेकी केन्द्रीय सदस्य मोहनमाया ढकालले पार्टीलाई एकताबद्ध बनाएर स्थानीय तहको निर्वाचनको तयारीमा जुट्नुपर्ने बताएकी छिन्।  पार्टीको जारी केन्द्रीय कमिटीको तेस्रो बैठकमा अध्यक्षको प्रतिवेदनमाथि धारणा राख्दै ढकालले फागुनमा भएको निर्वाचनले पार्टीलाई ठुलो धक्का दिएको र त्यसकाे परकम्प अझै आइरहेको बताइन्। उनले स्थानीय तहको निर्वाचनमा आउन सक्ने अझ ठुलो धक्काको प्रतिरोध गर्ने सामर्थ्य पार्टीले आजैदेखि तयार गर्नुपर्ने बताइन्।

‘पार्टीप्रति जनतामा किन–किन निराशा छाएको छ। त्यसको एक धक्का हामीले गत निर्वाचनमा व्यहोरेका छौँ। त्यसको परकम्प साम्य नहुँदै अर्को चुनावी धक्काको तयारी हुँदै छ,’ ढकालले भनिन्, ‘तर, पार्टीभित्रको एकता, कार्यकर्ताप्रतिको सम्मान र जनताप्रतिको जवाफदेहिताले हामी यो धक्काको सामना गरेर विजय हासिल गर्न सक्छौँ।’

वीरेन्द्रनगर नगरपालिकाकी मेयरसमेत रहेकी ढकालले पार्टी र संगठनप्रति प्रतिबद्ध हजारौँ कार्यकर्ता मैदानमा रहेकाले एमालेले निराश हुनुपर्ने अवस्था नरहेको बताइन्।

‘मैदानमा हजारौँ प्रतिबद्ध कार्यकर्ता र हामीलाई माया गर्ने मतदाता छन्,’ उनले भनिन्, ‘गत निर्वाचनमा कोही अल्गोरिदमको प्रभावमा परे। कसैले हाम्रा कार्यशैलीमा असहमति राखेर मत बदले। उनीहरूको मन एमालेमै छ। अबको निर्वाचनमा मनसँगै मत पनि एमालेमै हाल्ने वातावरण बनाउन सबैले तहअनुसारको जिम्मेवारी निर्वाह गरौँ।’

अध्यक्ष केपी ओलीले बैठकमा प्रस्तुत गरेको प्रतिवेदनको अंश उद्धृत गर्दै उनले जनताको विश्वास फर्काएर आगामी निर्वाचन जित्न सकिने बताइन्। ‘अध्यक्षज्यूको प्रतिवेदनमा उल्लेख भएअनुसार नै जनताको मन बुझेर, गल्ती सच्याएर, संवाद सुधारेर, संगठन जगाएर, नीति स्पष्ट पारेर र नयाँ विश्वास बनाएर आगामी चुनाव जित्न सकिन्छ,’ ढकालले भनिन्, ‘प्रतिवेदनको यो अंश जिम्मेवारीमा भएका सबै कमरेडहरूले पूरा गरौँ। पार्टीको पक्षमा माहोल फर्कन्छ।’

ढकालले लामो अन्तरालमा मात्र केन्द्रीय कमिटीको बैठक बसेको र नयाँ निर्वाचनको चहलपहल सुरु भइसकेकाले यस बैठकमा स्थानीय तहको चुनावी रणनीति र एजेन्डाबारे पनि छलफल गर्नुपर्ने माग गरिन्।

सुझावित समाचार