यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित क्षेत्रबाट हालसम्म चार हजार १७७ जनाको उद्धार गरिएको छ। बुधबार साँझ साढे ६ बजेसम्मको तथ्यांकअनुसार तीन हजार ८९४ स्वदेशी र २८३ विदेशीको उद्धार गरिएको हो।
चिलिमे हाइड्रोमा गोताखोरसहितको संयुक्त उद्धार टोलीले आज टनेलको ब्रेक थ्रु गरी अन्तिम किनारासम्म खोजी कार्य गर्दा चारवटा शव र एक मानव अंग फेला पारेको छ। यसअघि भदौ १५ गते उक्त टनेलबाट एक शव र एक मानव अंग फेला परेको थियो। फेला परेका शव तथा मानव अंगलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत त्रिशूली ल्याइएको छ।
यसैगरी, माथिल्लो त्रिशूली–१ को टनेल तथा त्रिशूली–३ ‘ए’को टनेल र पावर हाउस क्षेत्रमा संयुक्त उद्धार टोलीले खोजी कार्य गरिरहेको छ।
त्रिशूली–३ ‘बी’मा नेपाली सेनासहितको संयुक्त टोलीले एक्स्काभेटर र लोडरको प्रयोग गरी खोजी कार्य जारी राखेको छ। आयोजनाको आवास इलाकामा २ आवास भवनको प्लिन्थ क्षेत्रबाहेक अन्य संरचना फेला परेको छैन।
लाङटाङ जलविद्युत् आयोजनाको सुरुङमा भने कोही नभेटेपछि विदेशी प्राविधिकसहितको संयुक्त उद्धार टोली फर्किइसकेको छ।