स्तन क्यान्सर सचेतनाका लागि ‘पिंकवाक २०२६’ आयोजना हुँदै

बुधबार, ३१ भदौ, २०८३
डिजिटल संस्करण

स्तन क्यान्सरसम्बन्धी जनचेतना अभिवृद्धि, प्रारम्भिक पहिचानको महत्त्वबारे सचेतना फैलाउने तथा क्यान्सर प्रभावित व्यक्ति र परिवारप्रति ऐक्यबद्धता जनाउने उद्देश्यले ‘पिंकवाक २०२६’ आयोजना हुने भएको छ।

इन्फिनिट केयर्सले क्यान्सर केयर नेपालसँगको सहकार्यमा आगामी असोज १७ गते शनिबार बिहान ६ बजे पिंकवाक आयोजना गर्न लागेको हो। यसअन्तर्गत सहभागीहरूले वसन्तपुरस्थित काठमाडौं दरबार स्क्वायरदेखि ललितपुरको मंगलबजारस्थित पाटन दरबार स्क्वायरसम्म पदयात्रा गर्नेछन्।

पिंकवाकमा स्वास्थ्यकर्मी, क्यान्सरबाट निको भएका व्यक्ति तथा प्रभावित परिवार, विभिन्न संघसंस्था, साझेदार संस्था, सञ्चारकर्मी तथा सर्वसाधारणको सहभागिता रहने आयोजकले जनाएको छ।

स्तन क्यान्सर समयमै पहिचान गर्न सके उपचार प्रभावकारी हुने भएकाले नियमित स्वास्थ्य परीक्षण, प्रारम्भिक पहिचान र समयमै उपचारका विषयमा समुदायमा सचेतना फैलाउनु कार्यक्रमको प्रमुख उद्देश्य रहेको आयोजकको भनाइ छ। साथै, क्यान्सर उपचार तथा पुनर्स्थापनाको क्रममा रहेका व्यक्ति र परिवारलाई सामाजिक तथा भावनात्मक सहयोग आवश्यक रहेको सन्देश पनि कार्यक्रममार्फत प्रवाह गरिनेछ।

इन्फिनिट केयर्सका तर्फबाट दिजुप तुलाधरले पिंकवाकलाई केवल पदयात्रामा सीमित नभई सचेतना, आशा, साहस र ऐक्यबद्धताको सामूहिक अभियानका रूपमा अघि बढाउन खोजिएको बताए।

पिंकवाक २०२६ मा क्यान्सर केयर नेपाल, नेसनल अस्पताल तथा क्यान्सर सेन्टर, आइएसएस साउन्ड, नोभाला बायोटेक, पठाओ नेपाल, इसेवा, ह्याप्पी माइन्ड्स, वर्ल्ड अफ उमन साझेदारीमा आयोजना हुँदै छ। नेपाल क्यान्सर सर्भाइभर्स सोसाइटी, काठमाडौं महानगरपालिका तथा ललितपुर महानगरपालिकाको सहयोग रहेको छ।

सुझावित समाचार