- एआईदेखि विदेशी वैज्ञानिक भित्र्याउनेसम्मको व्यवस्था गरिँदै
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)लाई पुनर्संरचना गरिने भएको छ । विज्ञान तथा प्रविधिको तीव्र विकास, कृत्रिम बुद्धिमत्ता, नवप्रवर्तन, अनुसन्धान र वर्तमान आवश्यकता संस्थागत गर्न प्रतिष्ठानको संरचना र कार्यप्रणालीमा व्यापक सुधार गर्न लागिएको हो ।
प्रतिष्ठानको पुनर्संरचना गर्न आइतबार विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयले नास्ट र विभिन्न क्षेत्रका सरोकारवालासँग छलफल गरेको छ । छलफलका क्रममा नाष्टको पुनर्संरचना गर्नुपर्ने र प्रतिष्ठानलाई थप चलायमान बनाउनुपर्नेमा सरोकारवालाले जोड दिए । नास्टका वैज्ञानिक तथा प्राज्ञ रमेश मास्केले नास्टलाई चलायमान बनाउन नयाँ आविष्कारका बदलिँदो अवस्थालाई समेट्नुपर्ने बताए । ‘विज्ञान, प्रविधि, अविष्कार र नवप्रवर्तन क्षेत्रमा काम गर्ने संस्थामा चरम राजनीतीकरण भयो, अब यसलाई राजनीतीकरणबाट मुक्त गरेर सञ्चालन गर्नुपर्छ, मन्त्रालयले अभिभावकत्व लिएर काम गर्नुपर्छ,’ उनले भने, ‘संस्थामा कर्मचारी धेरै भए, अनुसन्धान कम भयो, कतिपय वैज्ञानिकहरू डम्पिङ हुने अवस्था आयो ।’
०३९ मा स्थापना भएको नास्टको ऐनसमेत संशोधनको गृहकार्य थालिएको छ । यसअघि नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ऐन, २०४८ समयसापेक्ष नभएको भन्दै ऐन संशोधनको गृहकार्यसमेत भएको हो । त्यतिवेला ऐन बन्दा विश्वमा विज्ञान प्रविधिको विकास भइसकेको, तर पछिल्ला दुई दशकमा प्रविधिको ह्वात्तै विकास भएकाले समयसापेक्ष बनाउन ऐन संशोधन गर्नुपर्ने मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले नास्टको पुनर्संरचना साथै ऐन परिवर्तन गरेर दुवै कार्य एकै समयमा सम्पन्न गर्ने लक्ष्यसमेत राखेको छ । मन्त्रालयले ऐन संशोधनका लागि मस्यौदा तयार पार्ने काम गरिरहेको विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले बताए । उनले दशकौँअघि बनेको सांगठनिक संरचनाले अहिलेको आवश्यकता पूरा गर्न नसक्ने भएकाले नास्टलाई नयाँ ढाँचामा अघि बढाउन लागिएको बताए । ‘नेपाल अहिले नवप्रवर्तनको क्षेत्रमा बामे सर्दै छ, अझै पनि धेरैलाई नवप्रवर्तन भन्ने शब्दको अर्थ र यसको महत्वबारे पर्याप्त जानकारी छैन,’ उनले भने, ‘यो नै अहिलेको युगको आवश्यकता हो, तर नेपाल अविष्कार र अनुसन्धानमा निकै पछि परेको छ, विज्ञान र प्रविधिको प्रभावकारी प्रयोग गर्न सके नेपालले पनि अनुसन्धान, प्रविधि विकास र आविष्कारका क्षेत्रमा नयाँ इतिहास बनाउन सक्छ ।’
मन्त्री पुनले नास्टलाई परम्परागत अनुसन्धान गर्ने संस्थाका रूपमा मात्र सीमित नराखी युवा वैज्ञानिक, अनुसन्धानकर्ता, उद्यमी र नवप्रवर्तनकर्तालाई जोड्ने राष्ट्रिय केन्द्रका रूपमा विकास गर्ने लक्ष्य रहेको बताए । कृत्रिम बुद्धिमत्ता, डिजिटल प्रविधि, रोबोटिक्स, जैविक प्रविधि, स्वदेशी प्रविधि विकास तथा अनुसन्धानमा आधारित उद्यमलाई प्रोत्साहन गर्ने गरी संस्थाको भूमिकालाई पुनर्परिभाषित गरिने उनको भनाइ छ ।
मन्त्री पुनका अनुसार नेपालमा विज्ञान तथा प्रविधिको क्षेत्रमा पर्याप्त सम्भावना हुँदाहुँदै पनि त्यसको व्यवस्थित खोज, अनुसन्धान र उपयोग हुन सकेको छैन । नास्टका वैज्ञानिक तथा प्राज्ञ प्राडा गोपाल मास्केले नास्टमा राजनीीतकरण गर्न दिन नहुने र अब यसलाई नयाँ शिराबाट अघि बढाउनुपर्ने धारणा राखे । ‘नास्ट नेपालको एउटा गौरव गर्नलायक संस्था हुनुपर्नेमा विगतमा धेरै राजनीतीकरणको भुमरीमा फस्यो,’ उनले भने, ‘अब ऐन बनाउँदा र पुनर्संरचना गर्दा ध्यान दिनुपर्छ, जे–जति काम गर्न समस्या भएको छ वा आवश्यक छ त्यसलाई नीतिगत रूपमै समेट्नुपर्छ ।’ सरकारले हरेक वर्ष नास्टलाई ४५ करोड रुपैयाँ बजेट दिने गरेको छ । तर, त्यसमध्ये २७ करोड कर्मचारीको तलब र प्रशासनिक काममै खर्च हुने गरेको छ ।
कुलपति प्रधानमन्त्री राख्ने विषयमा अन्योल
नास्टको कुलपति प्रधानमन्त्रीलाई राख्ने वा नराख्ने भन्नेबारेमा पनि छलफल थालिएको छ । विगतमा कुलपतिसमेत रहेका प्रधानमन्त्रीले नास्टलाई समयमै नै नदिएकाले अब भने यसमा समय दिन सक्ने भए मात्रै प्रधानमन्त्रीलाई राख्न सकिने मन्त्री पुनले बताए । प्रस्तावित संरचनाअनुसार नास्टको सबैभन्दा प्रमुख भूमिकामा प्राज्ञसभा रहनेछ । त्यस्तै, पूर्णकालीन प्रमुख कार्यकारीको नेतृत्व गर्ने गरी अध्यक्ष, प्राज्ञ युवा वैज्ञानिक, प्रविधि प्रवीण व्यक्तित्व, व्यवस्थापन परिषद् रहने प्रस्ताव गरिएको छ । संस्थामा दुईजना उपाध्यक्ष र विभिन्न केन्द्रहरू राख्ने तयारी गरिएको छ । नयाँ संरचना बनाउँदा नेपालमा सम्भावना देखिएको स्विमिङ इन्जिनियरिङ तथा इनोभेसनको क्षेत्रलाई पनि समेटिनेछ ।