सरकार र निजी क्षेत्रको सहकार्यबाट अर्थतन्त्र उकास्न सकिन्छ : विनोद चौधरी

शुक्रबार, २६ भदौ, २०८३
डिजिटल संस्करण

उद्योगपति विनोद चौधरीले सरकार र निजी क्षेत्रबिच प्रभावकारी सहकार्य हुन सके नेपाली अर्थतन्त्रलाई नयाँ दिशामा अघि बढाउन सकिने बताएका छन्।

प्रधानमन्त्रीसँग करिब दुई घण्टा लामो छलफलपछि चौधरीले उद्यमी–व्यवसायीले स्थिर सरकार, भ्रष्टाचारको अन्त्य र वित्तीय अपराध नियन्त्रणसहितको लगानीमैत्री वातावरण चाहेको बताए।

सरकारका तर्फबाट सकारात्मक संकेत देखिए पनि त्यसको कार्यान्वयनमा ढिलाइ हुँदा निजी क्षेत्रमा अन्योल कायमै रहेको उनको भनाइ छ। उनले वन, खानी तथा जलविद्युत् आयोजनामा लगानीकर्ताको पारदर्शी सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिए। विद्युत् खरिद सम्झौता (पिपिए)लगायतका विषयमा सरकारी कार्यशैलीमा परिवर्तन आवश्यक रहेको पनि उनले बताए।

मुलुकमा पर्याप्त तरलता र ब्याजदर घट्दो अवस्थामा रहे पनि लगानी विस्तार हुन नसकेको चौधरीले उल्लेख गरे। लगानीसम्बन्धी निर्णयलाई छिटो अघि बढाउन प्रधानमन्त्री कार्यालयमै निर्णय गर्न सक्ने प्रभावकारी संयन्त्र बनाउनुपर्ने उनको सुझाव छ।

चौधरीका अनुसार बैंकिङ क्षेत्रबाहिर सरकारका विभिन्न निकायमा ५० खर्ब रुपैयाँभन्दा बढी रकम थुप्रिएर बसेको छ। उक्त रकमलाई उत्पादनशील क्षेत्रमा परिचालन गर्न सके अर्थतन्त्र चलायमान बनाउन सहयोग पुग्ने उनको भनाइ छ।

पूर्वाधार विकासतर्फ पूर्व–पश्चिम रेलवे निर्माण, रारा, डोल्पा र खप्तडजस्ता पर्यटकीय क्षेत्रको विकास तथा हवाई सम्पर्क विस्तार गर्नुपर्ने चौधरीले बताए। यस्ता क्षेत्रमा पूर्वाधार विस्तार गर्न सके वार्षिक ५० लाख पर्यटक भित्र्याउन सकिने उनको दाबी छ।

सुझावित समाचार